वर्षा गराउने माैसमी प्रणाली बाहिरियाे, आजदेखि माैसम सफा हुने
मंगलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।
उक्त प्रणालीले आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन । उक्त प्रणलीले काठमाडौँमा २.२, ललितपुर ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।
रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ति जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो ।




