संसद पुनःस्थापनाकाे रिटमा आज तारेख, अब के गर्ला सर्वोच्चले ?

मूलखबर संवाददाता
काठमाडौं, १३ माघ

सर्वोच्च अदालतमा दर्ता भएको संसद् पुन:स्थापनाको रिटमा लिखित जवाफ आउने क्रम सकिएको छ । मंगलबार साधारण तारेख तोकिएको छ ।

संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने अभ्यास छ । बुधबार अन्तरिम आदेश र अन्तिम सुनुवाइका मुद्दा र शुक्रबार पहिलो सुनुवाइ गर्ने मुद्दा हेर्न अभ्यास छ ।

यसरी हेर्दा सर्वोच्चले यही बुधबार पनि पेसी तोकेर नियमित सुनुवाइ गर्न सक्ने देखिन्छ । तर सर्वोच्च अदालत अहिले नै विघटनको मुद्दा किनारा लगाउने पक्षमा देखिँदैन । संवैधानिक इजलास गठन हुनका लागि प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश हुनुपर्छ ।

सर्वोच्च अदालतले यसअघि पहिलो सुनुवाइमा सबै पक्षको लिखित जवाफ पेस भएको सात दिनभित्र पेसी तोकी अन्तिम सुनुवाइ गर्ने आदेश गरेको थियो । यसरी हेर्दा सर्वोच्चले एक सातापछि पेसी तोक्न सक्ने देखिन्छ । एक सातापछि तोकिएमा निरन्तर सुनुवाइ गरे मात्र निर्वाचन अघि फैसला आउन सक्ने देखिन्छ ।