राष्ट्रिय सभा निर्वाचन : यस्ताे छ गण्डकी प्रदेशकाे अवस्था

मूलखबर संवाददाता
पाेखरा, ११ माघ

गण्डकी प्रदेशमा आज राष्ट्रिय सभाकाे रिक्त दुई पदमा निर्वाचन हुँदैछ । यश प्रदेशमा ५९ जना प्रदेश सभा सदस्य र एक सय ७० जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन्। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पुर्पक्षका लागि जेलमा रहेकाले मतदान गर्न पाउने अवस्था छैन।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)की भगवती न्यौपानेको पदावधि सकिन लाग्दा यहाँ निर्वाचन भएको हो। गण्डकीमा सत्ता साझेदारी गरिरहेका नेकपा (एमाले) र नेपाली कांग्रेसले चुनावी गठबन्धन गरी संयुक्त रुपमा उम्मेदवार उठाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चा अलग अलग रुपमा प्रतिस्पर्धामा छन्।

एमालेबाट महिला क्लस्टरमा सम्झना देवकोटाको उम्मेदवारी परेको छ। एमाले कांग्रेस गठबन्धनको तर्फबाट कांग्रेसले खुलामा प्राडा जगत् तिमिल्सिनालाई अघि सारेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिला क्लस्टरबाट नेकपाकी गोमा लुइटेल घिमिरे र खुलाबाट कपिल लामालाई मैदानमा उतारेको छ।

राष्ट्रिय जनमोर्चाका खुलामा शंकरप्रसाद बराल र महिलामा लक्ष्मी बाँस्कोटा उम्मेदवार छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार छ। प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ। स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी गण्डकीको कुल मतभार छ हजार तीन सय ५७ छ।

प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिन्छ। कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ। यहाँ दोस्रो दल एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि छन्। एमालेसँग दुई हजार चार सय ५८ मतभार छ।

साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीका यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी नौ सय ६० मतभार छ। माओवादी केन्द्रकै चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा हुनुहुन्छ।

गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई प्रदेशसभा सदस्य हनुहुन्छ। अहिलेको एमाले र कांग्रेसको सत्ता गठबन्धनलाई सघाइरहेको राप्रपाले राष्ट्रियसभा चुनावमा भाग नलिने निर्णय गरिसकेको छ।

यहाँ दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ। मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ भने पछिल्लो क्रममा एमाले निकट हुनुहुन्छ।