फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने

मूलखबर संवाददाता
काठमाडौं, ११ माघ

युराेपेली विकसित मुलुक फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन राेक लगाउन खाेजेकाे छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्‍याएका छन् ।

‘मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्,’ उनले बीएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैंले रेकर्ड गरेको भिडियोमा भनेका छन् ।

भिडियोमा उनले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि लागू गर्न चाहेको बताएका छन् ।

फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् । इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लाटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गत महिना पहिलो देश बनेको थियो ।