सल्यानमा नेकपाले बनायाे रमेश मल्ललाई प्रतिनिधिसभाकाे उमेदवार

मूलखबर संवाददाता
काठमाडौं, ५ माघ

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य रमेश कुमार मल्ललाई टिकट दिएको छ।

को हुन् रमेश मल्ल ?

रमेश कुमार मल्ल नेपाली कम्युनिष्ट आन्दोलनका प्रतिबद्ध, सङ्घर्षशील र वैचारिक नेतामध्ये एक हुन्। जनयुद्ध र विद्यार्थी आन्दोलनको मोर्चाबाट राजनीतिक यात्राको सुरुवात गर्दै उनले तीन दशक लामो निरन्तर सङ्घर्षमार्फत जनपक्षीय राजनीति, सामाजिक रूपान्तरण र परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

राजनीतिक जीवन र सङ्घर्षको यात्रा

२०३५ माघ २८ गते सल्यान जिल्ला, कुमाख गाउँपालिका–५ बाल्लेमा जन्मिएका मल्लले विद्यार्थी आन्दोलनमार्फत् राजनीतिक जीवन प्रारम्भ गरे। २०५० सालमा अखिल (क्रान्तिकारी)को साधारण सदस्य बनेर सुरु भएको यात्राले छोटो अवधिमै वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका कारण नेतृत्व तहसम्म स्थान पायो।

२०५६ सालमा सल्यान जिल्ला अध्यक्ष, २०५८ सालमा विराटनगरमा सम्पन्न १५औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र २०७२ सालमा संगठनको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी उनले सफलता र अनुशासनका साथ पूरा गरे।

२०५४ सालदेखि माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता बनेका मल्ल २०५७ सालमा जिल्ला समिति सदस्य भई सेती–महाकाली क्षेत्रमा सरुवा भए। ९ वटै जिल्लामा संगठन विस्तार, राजनीतिक प्रशिक्षण र जनसेना उत्पादनमा सक्रिय भूमिका खेलेर उनले सुदूरपश्चिम क्षेत्रमा माओवादी आन्दोलनको संगठनात्मक आधार सुदृढ गर्न योगदान दिए।

सङ्गठनात्मक र नेतृत्व भूमिका

मल्लले विद्यार्थी आन्दोलनमा मात्र नभई पार्टीको विभिन्न तहमा पनि जिम्मेवारी सम्हाले-

एकीकृत नेकपा (माओवादी)को नेवाः राज्य समिति सदस्य (२०६५), नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति सदस्य/पोलिटब्युरो सदस्य (२०७३), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा–विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष र इन्चार्ज (२०७६), पार्टी पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश सह–इन्चार्ज (२०७८) को जिम्मेवारीमा रहेर काम गरेका उनी हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका छन्।

त्यो लामो राजनीतिक यात्राले उनलाई वैचारिक दृढता, संगठनात्मक परिपक्वता र व्यवहारिक नेतृत्वको प्रतीकका रूपमा स्थापित गरेको छ।

राजनीतिक दृष्टिकोण र वैचारिक प्रतिवद्धता

मल्लको राजनीतिक दृष्टिकोण स्पष्ट र मानवीय केन्द्रित छ। उनी विश्वास गर्छन्- “भौतिक विकासले मात्र देश अगाडि बढ्दैन, विकासको वास्तविक अर्थ मानवीय चेतना, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रमा निहित हुन्छ।”

उनको दृष्टिमा विकास जनतामुखी, आत्मनिर्भर र समान अवसरमा आधारित हुनुपर्छ। राज्यसत्ताको लक्ष्य जनजीवनको रूपान्तरण, न्यायपूर्ण वितरण र आत्मगौरवयुक्त समाज निर्माण हो भन्ने उनी मान्दछन्।

सार्वजनिक र प्रशासनिक योगदान

मल्लले २०७१–२०७२ मा त्रिभुवन विश्वविद्यालय सभाका सदस्य (सिनेटर)को रूपमा कार्य गरे। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवका रूपमा दुई कार्यकाल (२०७३–२०७४ र २०७९–२०८१) सचिवालयमा रहेर नीति निर्माण, विकास समन्वय र राष्ट्रिय कार्यक्रमहरूको कार्यान्वयनमा योगदान पुर्‍याए।

उनको पहलमा सल्यान जिल्लामा टेलिकमको सेवा विस्तार, सडक स्तरोन्नति, विद्युतीकरण, शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रमा उल्लेखनीय सुधार भएका छन्।

अन्तर्राष्ट्रिय सहभागिता र बौद्धिक योगदान

मल्लले चीन, भारत, बंगलादेश, श्रीलङ्का लगायत देशहरूमा राजनीतिक तथा कूटनीतिक भ्रमण गरेका छन्। उनले आफ्ना अनुभवहरूलाई ‘छिमेक यात्रा’ शीर्षकमा नियात्रा सङ्ग्रहका रूपमा प्रकाशित गरेका छन्, जसले उनको बौद्धिक गहिराइ र क्षेत्रीय राजनीतिक दृष्टिकोण झल्काउँछ।

समग्रमा तीन दशक लामो राजनीतिक यात्रामा रमेश कुमार मल्लले जनयुद्धदेखि शान्ति प्रक्रियासम्मका ऐतिहासिक मोड पार गर्दै जनताको विश्वास जितेका छन्।
उनको राजनीति संघर्षको प्रतीक हो- सिद्धान्तमा दृढ, व्यवहारमा इमान्दार र मिलनसार अनि उद्देश्यमा जनमुखी।

आज उनी भौतिक मात्र होइन, मानवीय विकास, सामाजिक न्याय र स्वाभिमानयुक्त राष्ट्र निर्माणको एजेन्डा लिएर अघि बढिरहेका छन्।

रमेश कुमार मल्ल समकालीन नेपाली वाम राजनीतिका प्रतिबद्ध, व्यावहारिक र भविष्यप्रतिको स्पष्ट दृष्टि भएका नेताका रूपमा स्थापित भइसकेका छन्।