नेपाली कम्युनिस्ट पार्टीका २४९९ केन्द्रीय सदस्यले लिए सपथ
काठमाडौं, २९ पुस ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २४९९ केन्द्रीय सदस्यले एकैसाथ सपथ ग्रहण गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा उपस्थित केन्द्रीय सदस्यहरूले प्रत्यक्ष रूपमा तथा देशका विभिन्न भाग र विदेशमा रहेका सदस्यहरूले भर्चुअल माध्यममार्फत सपथ लिएका हुन् ।
सपथ कार्यक्रमको सुरुआत पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले आफूले सपथ लिएका थिए । त्यसपछि उनले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई सपथ खुवाए । उक्त औपचारिक प्रक्रिया पूरा भएपछि सहसंयोजक नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा पार्टी संयोजक प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण केन्द्रीय सदस्यलाई एकैसाथ सपथ खुवाएका थिए । प्रत्यक्ष र भर्चुअल दुवै माध्यमबाट सम्पन्न यो सपथ समारोहले पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास नेतृत्वले व्यक्त गरेको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १६ दल मिलेर बनेकाे नेपाली कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र पालिका तथा वडा समितिलाई पुर्णता दिने तथा समायाेजन गर्ने प्रक्रिया आजबाट शुरू भएको संयाेजक प्रचण्डले बताए ।
पार्टीले यो सपथ कार्यक्रमलाई आगामी राजनीतिक यात्रा, संगठनात्मक एकता र जनआन्दोलनप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिएको जनाएको छ । नेतृत्वका अनुसार केन्द्रीय सदस्यहरूको सक्रियता र एकताले पार्टीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।




