विभाजन रोक्न कांग्रेसभित्र ‘युद्धविराम’, दुवै पक्षको वार्ता टोली सक्रिय
विशेष महाधिवेशनमा नेतृत्व परिवर्तनसहितको कार्यविधि पारित भएपछि विभाजन रोक्न कांग्रेसभित्र ‘युद्धविराम’ भएको छ । वार्ताका लागि सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् भने महामन्त्रीद्वयले चार सदस्यीय समिति बनाएका छन् ।
दुवै पक्षका वार्ता समितिबिच मंगलबार वार्ता हुने तय भएको छ ।विशेष महाधिवेशनको दोस्रो दिन सभापति देउवाले निकटस्थ पदाधिकारीदेखि इतर समूहका नेता डा. शेखर कोइरालासमेतसँग चरणबद्ध छलफल गरेपछि सोमबार साँझ महामन्त्रीद्वयसँग संवादका लागि तीनजना नेतालाई जिम्मेवारी दिएका हुन् । सभापति देउवाले कार्यवाहक सभापति खड्का तथा नेताद्वय रमेश लेखक र बालकृष्ण खाणलाई उक्त जिम्मेवारी दिएका छन् ।
यस्तै, संस्थापन पक्षको यो जानकारीसँगै महामन्त्री थापा र शर्माले पनि संवादका लागि चार सदस्यीय टोली गठन गरेका छन् । वार्ता टोलीमा नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे छन् । दुवै पक्षको वार्ता टोलीबिच मंगलबार बिहान छलफल गर्ने सहमति भएकाे खबर नयाँ पत्रिकामा छ ।




