अमेरिकाले ताेड्याे ६६ वटा अन्तर्राष्ट्रिय संस्थासँग सम्वन्ध, अमेरिकी रकम र सहयोग रोकिने

मूलखबर संवाददाता
काठमाडौं, २४ पुस

पछिल्लाेपटक सार्रवभाैम मुलुक भुनेजुयलमाथी अाक्ररमण गरी राष्ट्रपत मदुराे दम्पतीलाइ पक्राउ गरेपछि अालाेचनामा परेकाे अमेरिकाले ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको बताएकाे छ । ह्वाइट हाउसका अनुसार यो निर्णय अमेरिकाले सदस्यता लिएको वा पक्ष रहेको सबै अन्तर्राष्ट्रिय अन्तर–सरकारी संगठनहरू, सम्मेलनहरू र सन्धिहरूको समीक्षा पछि लिइएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसले कुन–कुन संगठन हुन् भन्ने सूची सार्वजनिक गरेको छैन । तर उक्त निकायहरूले ‘उग्र जलवायु नीति, वैश्विक शासन प्रणाली र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग असंगत वैचारिक कार्यक्रमहरू’ अघि बढाउने गरेको आरोप लगाइएको छ।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यी संस्थाहरू अनावश्यक, गलत व्यवस्थापन, फजुल खर्च गर्ने र अमेरिकी सार्वभौमसत्ता तथा स्वतन्त्रताका लागि खतरा रहेको पाइएको छ।’

दोस्रो कार्यकाल सुरु गरेको एक वर्षयता ट्रम्पले संयुक्त राष्ट्रका विभिन्न निकायहरूमा अमेरिकाको आर्थिक योगदान कटौती गर्ने नीति अगाडि सारेका छन्।

एनबीसीन्युजका अनुसार, अमेरिकाले विश्वव्यापी सहयोगबाट हात झिक्ने क्रमलाई निरन्तरता दिँदै ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट बाहिरिने घोषणा गरेको छ। यीमध्ये अधिकांश संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकाय, आयोग र सल्लाहकार समितिहरू हुन् । यी स्स्थाहरूले जलवायु, श्रम, बसाइँसराइ जस्ता मुद्दाहरूमा काम गर्छन्।

‘यी संस्थाहरूबाट बाहिरिनुले अमेरिकी करदाताको धनराशीले समर्थन गर्दै आएको विश्ववादी एजेन्डालाई रोक्नेछ । साथै, महत्त्वपूर्ण मुद्दाहरूलाई अक्षम वा अहंकारी ढंगले सम्बोधन गर्ने निकायहरूमा जाने अमेरिकी करदाताको पैसा अब अन्य तरिकाले प्रयोग गर्न सकिनेछ,’वक्तव्यमा भनिएको छ।

यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ ।