मदुराे दम्पतीलाई तत्काल रिहा गर्न अमेरिकालाई चिनकाे आग्रह
चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न अमेरिकासँग आग्रह गरेको छ ।
शनिबार राति अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो दम्पतीलाई गिरफ्तार गरेर अमेरिका लगेपछि बेइजिङले रिहा गर्न आग्रह गरेको हो ।
आइतबार चिनियाँ परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले गरेको सैन्य हस्तक्षेपको विभिन्न देशका सरकारले आपत्ति जनाएको खबरबारे प्रतिक्रिया जनाउँदै सो धाराणा राखेका चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले बलपूर्वक राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लैजानु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तको स्पष्ट उल्लङ्घन भएको बताए ।
चीनले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेको उनले बताए । चीनले अमेरिकालाई राष्ट्रपति मादुरो र उनकी पत्नीको व्यक्तिगत सुरक्षाको सुनिश्चितता गर्न र उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।
भेनेजुएलामा सरकार ढाल्ने प्रयास रोक्न तथा उत्पन्न समस्याहरू संवाद र वार्तामार्फत् समाधान गर्न चीनको आह्वान छ ।




