विश्वका ३८ प्रतिशत महिलामाथि अनलाइन हिंसा, नेपालमा पनि बढ्दैछ अनलाइन हिंसा

मूलखबर संवाददाता
काठमाडौं, १० मंसिर

विश्वका ३८ प्रतिशत महिलामाथि अनलाइन हिंसा भएको पाइएकाे छ ।  यस वर्ष महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा संयुक्त राष्ट्रसंघ (यूएन) ले डिजिटल हिंसाविरुद्धको मुद्दालाई २०२५ को आफ्नो मूल ‘थिम’ नै बनाएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै छ ।

महिलाविरुद्ध ‘साइबर बुलिङ’, घृणास्पद अभिव्यक्ति, ‘ट्रोलिङ’, अनलाइन धम्की, ‘रिभेन्ज पोर्न’, ‘एआई–जेनेरेटेड डिपफेक’ र चरित्र हत्याजस्ता दुर्व्यवहार बढ्दै गएका छन्, संयुक्त राष्ट्रसंघले हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म चलाउने लैंगिक हिंसाविरुद्धको अभियानमा यस वर्ष डिजिटल हिंसालाई मुख्य विषय बनाएको छ।

राष्ट्रसंघले विश्वव्यापी रूपमा सबैभन्दा धेरै हुने मानवअधिकार उल्लंघनका घटनामध्ये महिला र बालबालिकाविरुद्धको हिंसा प्रमुख रहेको जनाएको छ । भौतिक रूपमा हुने घरेलु हिंसा र यौन दुर्व्यवहारको समस्या यथावत् रहँदा अनलाइन प्लाटफर्मले यसलाई अझै विकराल बनाएको विभिन्न अध्ययनले देखाएका छन् ।

नेपालकाे साइबर ब्युरोमा प्राप्त समग्र उजुरीहरू र पक्राउ परेकाको तथ्यांक हेर्दा डिजिटल माध्यमबाट हुने हिंसामा महिलाहरू सबैभन्दा धेरै पीडित देखिन्छन् । ब्युरोमा चालु आवको कात्तिक मसान्तसम्म कुल ६ हजार हाराहारीमा उजुरी दर्ता भएकामा ४४ वटा मुद्दा अदालतसम्म पुगेका थिए । ती ४४ मुद्दामा संलग्न पीडितहरूमध्ये ३४ जना महिला रहेको ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

साइबर ब्युरोको ‘पिलर फाइभ’ अर्थात् महिला तथा बालबालिकासँग सम्बन्धित घटनाहरू हेर्ने शाखाकी प्रहरी निरीक्षक दीपा भट्टराईका अनुसार अहिले धेरैजसो घटना ‘ब्ल्याकमेल’, ‘एक्सटोर्सन’, ‘रिभेन्ज पोर्न’ मा आधारित छन् । आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म ब्युरोमा महिला हिंसासम्बन्धी करिब २ हजार ९ सय उजुरीहरू परेका छन् ।

२०८१/८२ मा ८ हजार ४ र २०८०/८१ मा ९ हजार महिलाले उजुरी दिएका थिए । ‘वार्षिक तथ्यांकहरू हेर्दा नेपालमा महिलामाथि हुने डिजिटल हिंसा क्रमिक रूपमा बढिरहेको देखिन्छ,’ प्रहरी निरीक्षक भट्टराई भन्छिन्, ‘डिजिटल हिंसा केवल प्रेमी–प्रेमिकामा मात्र सीमित छैन, श्रीमान्–श्रीमतीबीच पनि हुने गरेको छ ।’

उजुरी दिने पीडितहरूमा १८ देखि २५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन्, ग्रामीण परिवेशका महिला, शिक्षित महिला र सेलेब्रिटीहरूसमेत छन्,’ उनले भने, ‘डिजिटल माध्यमबाट हुने हिंसाको प्रकृति हेर्दा अधिकांश घटनाहरू सामाजिक सञ्जालसँग जोडिएका छन् ।’ उनका अनुसार यस्ता घटनाहरूमा सम्बन्ध राम्रो हुँदा आदानप्रदान गरिएका डकुमेन्ट, तस्बिर वा भिडियोहरूको दुरुपयोग गरी धम्क्याउने, गाली बेइज्जती गर्ने वा अश्लील सन्देश पठाउने (सेक्सटिङ) जस्ता गतिविधिहरू धेरै देखिन्छन् ।