नयाँदिल्लीमा क्लाउड सिडिङमार्फत प्रदूषण नियन्त्रण असफल, के हो क्लाउड सिडिङ ?

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

भारतले राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोगमार्फत वायु प्रदूषण नियन्त्रण गर्न गरेको प्रयास असफल भएको छ । वैज्ञानिक र वातावरणीय अभियानकर्मीहरूले यस कदमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठाएका छन् ।

क्लाउड सिडिङमा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुनजस्ता कणहरू छर्काइन्छ, जसले वर्षा निम्त्याएर वायुमण्डलका प्रदूषकहरूलाई पखाल्ने अपेक्षा गरिन्छ । दिल्ली सरकारले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा गत हप्ता सहरका केही क्षेत्रमा सेस्ना विमान प्रयोग गरी परीक्षण सुरु गरेको थियो । तर पातलो बादलका कारण पहिलो परीक्षणबाट अपेक्षित परिणाम नआएपछि अत्यन्त न्यून मात्र वर्षा भएको जनाइएको छ ।

वातावरणीय अभियानकर्मी भावरीन कान्धारीका अनुसार यस्तो प्रविधि ‘भ्रमपूर्ण’ हो । उहाँले भन्नुभयो, “यसले कहिल्यै काम गर्दैन । जबसम्म हामी वायु प्रदूषणका वास्तविक स्रोतहरू हटाउँदैनौँ, तबसम्म समस्या समाधान हुँदैन ।”

स्थानीय सञ्चारमाध्यमका अनुसार यस परीक्षणमा सरकारले करिब तीन लाख ६४ हजार अमेरिकी डलर खर्च गरेको छ । हरेक जाडोमा बाक्लो धुवाँले दिल्ली र यसका करिब तीन करोड बासिन्दालाई घेरिरहेको हुन्छ । चिसो मौसममा खेतमा आगो लगाउने, कारखानाबाट निस्किने धुवाँ र सवारीसाधनका उत्सर्जनले वायुमण्डललाई विषाक्त बनाउँछ ।

सवारीसाधनमा प्रतिबन्ध, धुवाँ सोस्ने टावर र कुहिरो छर्किने ट्रकजस्ता प्रयासहरूका बावजुद पनि दिल्लीको हावाको गुणस्तर विश्वका राजधानीहरूमध्ये सबैभन्दा खराब अवस्थामा रहेको छ । पछिल्लो परीक्षणको भोलिपल्ट मात्रै क्यान्सर उत्पन्न गर्ने सूक्ष्म कण एः २.५ को स्तर ३२३ पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको दैनिक सीमा भन्दा करिब २० गुणा बढी हो । विशेषज्ञहरूले यस अवस्थालाई आगामी दिनमा अझ बिग्रिने अनुमान गरेका छन् ।

सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकामा प्रकाशित छ । यसबीच, क्लाउड सिडिङमा प्रयोग गरिएका रसायनहरूको दीर्घकालीन प्रभावबारे पनि चिन्ता व्यक्त गरिएको छ । अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका अनुसार सीमित अध्ययनले सिल्भर आयोडाइडले गम्भीर स्वास्थ्य जोखिम उत्पन्न नगरेको देखाए पनि यसको व्यापक प्रयोगका दीर्घकालीन असरहरू अझै अज्ञात छन् ।

वातावरणीय विज्ञहरूका अनुसार क्लाउड सिडिङले वर्षा गराउन सफल भए पनि यसको प्रभाव अत्यन्तै अल्पकालीन हुन्छ । कर्नेल विश्वविद्यालयका जलवायु वैज्ञानिक डेनियल भिजनीले भन्नुभयो, “यदि हावामा पर्याप्त आद्र्रता छैन भने यो प्रविधिले वर्षा उत्पन्न गर्न सक्दैन । यसले वर्षालाई एक ठाउँमा केन्द्रित गर्न सक्छ, तर प्रदूषण हटाउने स्थायी उपाय होइन ।” उहाँका अनुसार प्रदूषण घटाउने एकमात्र विवेकपूर्ण उपाय भनेको जीवाश्म इन्धनको दहन कम गर्नु हो ।