नेपाल बन्यो अपराजित टोली , च्याम्पियनको रुपमा विश्वकपमा

मूलखबर संवाददाता
काठमाडौं, १ कात्तिक ।

नेपाली क्रिकेट टिम अपराजित यात्रामा अगाडि बढिरहेको छ । ओमानमा चलिरहेको टी२० विश्वकप २०२६ का लागि एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोट प्रतियोगितामा नेपाल अपराजत टोलीको रुपमा परिचय बनाएको छ । यस प्रतियोगिताको एक मात्र अपराजित टोलीका रूपमा नेपाल क्षेत्रीय छनोटको च्याम्पिअन बनेको छ।

नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको खुसीयाली एसिया–इस्ट एसिया प्यासिफिक छनोट च्याम्पियन बनेर मनाएको छ । ओमानमा भइरहेको प्रतियोगिताको सुपर सिक्सको शुक्रबार अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले पराजित गरेपछि नेपाल विजेता बनेको हो ।

विश्वकप छनोट विजेताको प्रबल दाबेदारका रूपमा हेरिएको नेपालले सोचेअनुरूपकै खेल पस्किन सफल भयो र उपाधिको ताज पहिरिने दृष्टिकोणले महत्त्वपूर्ण रहेको अन्तिम दिनको खेलमा समोआलाई १२४ रनको ठूलो अन्तरले सहजै पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको नेपालले पूरा इनिङ्स खेलेर चार विकेटको क्षतिमा २११ रन बनायो। जारी प्रतियोगितामा नेपालले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भएका प्रतियोगिताहरूमा जितेको यो एसिया (इस्ट एसिया प्यासिफिक छनोट च्याम्पियन ) सबैभन्दा ठूलो उपाधि हो । सन् २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया छनोटलाई आयोजित इस्टर्न रिजन जितेको थियो ।

विश्वकप छनोट खेल्न जानुअघि वेस्ट इन्डिजसँगको टी २० आई शृङ्खला जितेको नेपालले यसपालि लगातार विश्वकप पुग्नेु नारा बोकेर झन्डै एक वर्ष लामो तयारी गरेको थियो।

लक्ष्यअनुरूप नै नेपालले समूह चरण र सूपर सिक्सुमा गरी खेलेको छ वटै खेल जित्न सफल भयो। यद्यपि युएई, कतार र कुवेतविरुद्धको खेल जित्न नेपाललाई हम्मेहम्मे परेको थियो।

अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी२० विश्वकपमा छानिएको नेपालको यो लगातार दोस्रो विश्वकप तथा समग्रमा तेस्रो विश्वकप सहभागिता हो।
यसपालि अपराजित रही विजेता बनेर नेपालले १० अंक जोडेको छ । ओमानको ८ र यूएईको ६ अंक रह्यो ।

नेपालले सामोआलाई पराजित गरेपछि ओमानलाई २ अंकले पछाडि पारेको हो । ९ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले सबै खेल जितेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको थियो । त्यसपछि सुपर सिक्समा यूएई, कतार र ओमानलाई पराजित गरेको थियो ।