युवा पुस्ताकी छोरीलाई एक बुबाको भावुक खुला पत्र
प्रिय छोरी,
समयको घडी आज पनि उस्तै बज्दैछ – तर यसको आवाज तिमीले अब फरक तरिकाले सुन्न थालेकी छौ।
त्यो घडीले मलाई ३० वर्षअघि फर्काउँछ -जब तिमी केवल तीन महिनाकी थियौ र म समाज परिवर्तनको लडाइँमा हिँडेको थिएँ। त्यो क्षणमा तिम्रो न्यानो अँगालो र मेरो सपनाबीच एउटा ठूलो बिभाजन रेखा कोरिएको थियो, तिम्रो स–सानो हात समाउन पनि समयले दिएन; आन्दोलनको आगोले त्यो अधिकार पनि मबाट खोसेको थियो।- एकातिर तिम्रो बालापन, अर्कोतिर आन्दोलन।
अढाई वर्षको हुँदा तिम्री आमा पनि मेरो साथ लागिन् – हामीले तिमीलाई मावलीको घरमा छोड्यौं।
हजुरआमा र हजुरबाबाको ओढ्नीमा तिम्रो निद्रा र हजुरबाको काँधमा तिम्रो बिहान हुन्थ्यो। तर त्यो घरमा पनि शान्ति थिएन – प्रहरी र प्रशासनको नजर, डर र दबाब सँगै। तर तिमी हुर्कियौ, अनिश्चितता र सानोपनका बीच पनि स्थिर भएर।
तिम्रो बाल्यकालले तर्क सिकायो, तिम्रो किशोरकालले विवेक, र अबको तिमीले चेतना।
आज तिमी उच्च शिक्षामा छौ – साहित्यको संवेदनशीलता, सूचना प्रविधिको बुद्धि, मेडिकलको मानवीयता र अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टि एकै शरीरमा बोक्दै।
यही संयोजन नै आधुनिक पुस्ताको शक्ति हो – ज्ञान, भावना र प्राविधिक चेतनाको एकत्व।
तर देश अझै अस्थिर छ, छोरी।
भर्खरैका भाद्र २३ र २४ का दिनहरूमा भएको GN–Z विद्रोह ले फेरि एक पटक हाम्रो समाजको भित्री पीडा उजागर गर्यो।
७२ जना युवाको रगत, हजारौं घाइते, आगोले पोलिएका इतिहास बोकेका सरकारी भवन , राष्ट्रिय सम्पदा ,नीजी निवास अनि व्यापारिक केन्द्र र सडकमा बगेका रगतहरू -यी केवल घटना होइनन्, असफल राज्य व्यवस्थाका प्रमाण हुन्।
तर तिनीहरूकै बीचमा मैले एउटा गहिरो प्रश्न सुनेँ –
“परिवर्तन के हो?”
विद्रोह आवेश हो, परिवर्तन चेतना।
विद्रोह र जिम्मेवारीबीचको सानो सीमारेखाले नै इतिहासको दिशा तय गर्छ।
GN–Z का युवाहरूले उठाएका असमानता, भ्रष्टाचार र नेतृत्वको क्षयका मुद्दा सान्दर्भिक छन्;
तर तिनीहरूलाई हिंसाले होइन, नीतिले उत्तर दिनुपर्छ।
छोरी,
असोज १७, १८ र १९ का अविरल वर्षाले देशको शरीर भिजाएको छ – तर भिजेको केवल माटो होइन, जनताको आत्मा हो। कसैको घर बग्यो, कसैको जीवन बिसायो, कसैको सपना माटोमा गाडियो।
यस्तो बेला राष्ट्रका युवाहरूले विद्रोह होइन, बोध गर्नुपर्छ;
उद्धारमा जानुपर्छ, सहानुभूति बाँड्नुपर्छ, विवेकका आवाज बन्नुपर्छ।
तिमीलाई थाहा छ –
हामीले संघीयता र लोकतान्त्रिक गणतन्त्रका लागि ज्यानै दावमा लगाएका थियौं। आज GN-Z हरुले उठाएका कुराहरु – स्थीर शासनका लागि कार्यकारी राष्ट्र प्रमुख , पूर्ण समानुपातिक निर्वाचन प्रणाली , भ्रष्टाचारमुक्त समाज, विज्ञहरु बाट सरकारको निर्माण हमीले उठाएका मुद्दाहरू थिए तर त्य सबेलाका सत्तासिन दलहरु त्यो मान्न तयार भएनन् । असहमति दर्ज गरेर अहिलेको संविधानमा हस्ताक्षर गर्यौ । तर अहिले ती शब्दहरू संवैधानिक पानाभित्र मात्रै सीमित छन्, चेतनामा छैनन्।
हामीले संरचना बनायौं, तर आत्मा निर्माण गर्न बाँकी छ।
अब त्यो जिम्मा तिमीहरूको पुस्ताको हो –
जसले सञ्जालमा विश्व पढेको छ, र संवेदनामा देश बोकेको छ।
सत्य के हो भने GN-Z को कमजोरीभन्दा शक्ति धेरै छ तर यसलाई शासन सत्ताका मालिकहरुले सुन्न चाहेनन्। युवाहरू छिटो सिक्न, छिटो जुट्न र विश्वव्यापी विचारलाई छिटो स्थानीय बनाउन सक्छन्, उनीहरू ‘नेटवर्क’ विधामा पारङ्गत छन् जसलाई नेपालका संस्थाहरूले अझै राम्ररी बुझ्न सक्दैनन् ।
केही दिनमै डिस्कोर्ड र बिटच्याट विकेन्द्रीकृत च्यानलले त्यस्तो काम गरे, जुन पार्टीहरूले गर्न महिनौँ लाग्थ्यो । प्रदर्शन मार्गको नक्सा, तोडफोड र लुटपाट गर्ने स्थानको जिओलोकेसन सेयरगर्ने र देशलाई ठप्प बनाएको उनीहरूलाई अराजकता मन परेर होइन, बरु उनीहरू बुझ्छन् कि आजको शक्ति संरचनाभन्दा बढी ब्यान्डविथमा हुन्छ । आन्दोलनका घटना सबै दुर्घटना होइनन्; आन्तरिक र बाह्य शक्ती केन्द्रले धमिलो पानीमा माछा मार्न खोजे पनि, राजतन्त्र ब्युँताउने मौका देखे पनि समग्रमा यो विशुद्ध भविष्यको सङ्केत पनि थियो ।
युवाविरुद्ध जाने हरेक प्रयासको अन्त्य धुवाँमै हुन्छ ।
टिकटकमा `भ्रष्टाचार र आफन्तवाद विरुद्धको अभियान’ हुँदा ठुलाठुला मान्छेले मजाक उडाएका थिए । जब दर्ता नभएका ठुला (२६ वटा सामाजिक संजालहरु) प्लेटफर्म बन्द भए, तब उनीहरूले त्यो पीडा सडकमा लिएर आए ।
GN – Z हरुले आक्रोशमात्र आयात गरेका होईनन, उनीहरूले साहस पनि निर्यात गरेका हुन्, यद्यपि मौकाको फाइदा उठाउने हुँडारहरूले अवसर लिन खोजेका रहस्यहरु खुल्दै जानेछन् ।
GN-Z का कमजोरीहरू पनि छन् । त्यो हो, उत्साह र आवेग । विज्ञानले सजिलै भन्छ, दिमागको ‘ब्रेक’ प्रणाली ढिलो परिपक्व हुन्छ तर ’एक्सेलेरेटर’ प्रणाली छिटै सक्रिय हुन्छ । किशोर अवस्थाको जोखिम लिनुपर्ने स्वभावलाई सामाजिक सञ्जालको तीव्रतासँग मिसाउँदा परिणाम विस्फोटक हुन्छ । आक्रोश छिटै आगोको ज्वाला बन्छ, तर बुद्धिले आफ्नो आवाज बुझ्न सक्नुपर्छ । विद्रोहमा जलेकामध्ये केही सम्पदा थिए, केही त कठोर सङ्घर्षबाट पाएको सार्वजनिक विश्वास पनि । धेरै युवाले पछि स्वीकार गरे, त्यो गल्ती थियो । यो कुरा मनन गर्न जरुरी छ ।
तिमी,
जो कोड लेख्न सक्छौ र कविता पनि रच्न सक्छौ,
जो मानव शरीर बुझ्छौ र मानवीयता पनि महसुस गर्छौ,
जो अन्तर्राष्ट्रिय सम्बन्ध पढ्छौ र राष्ट्रिय सम्बन्धलाई बुझ्छौ
त्यो तिमी हो, जसले अब देशलाई पुनः परिभाषित गर्न सक्छौ।
हामीले आन्दोलनका नाममा तिम्रो बाल्यकाल चोरेका थियौं,
तर तिमीहरूले ज्ञानका नाममा देशको भविष्य बचाउन सक्छौ।
अबको आन्दोलन तिम्रो लेखन, तिम्रो अनुसन्धान र तिम्रो सहानुभूतिको हुनेछ।
ढुंगा होइन, विचार हान्नु;
घृणा होइन, संवाद बिछ्याउनु।
छोरी,
म र तिम्री आमा अझै पनि आफ्नो राजनीतिक यात्रामा छौं,
संघीयताको अर्थलाई जनजीवनमा उतार्ने प्रयासमा,
लोकतान्त्रिक मूल्यलाई अभ्यासमा बदल्दै ,
उत्पीडित जनताको पूर्ण मुक्तिको यात्रामा।
तर हाम्रो यात्रा अब बिस्तारै तिमीहरूका काँधमा सरेको छ।
हामीले बाटो देखायौं, तिमीहरूले दिशा तय गर्नुपर्छ।
देशले अहिले एक साथ दुई चुनौती सामना गर्दैछ –
१- राजनीतिक संक्रमण र दबाबको अस्थिरता,
२ – प्राकृतिक विपत्तिबाट उत्पन्न मानवीय संकट।
यी दुवैमा तिमीहरू युवाहरूको भूमिका निर्णायक हुनेछ – राहतमा सहभागिता, नीति संवादमा उपस्थिति, र सरकारलाई विवेकपूर्ण दवाव दिने रूपले।
छोरी,
संघर्ष र स्नेह दुवै तिम्रो रगतमा बगेको छ। हामीले भोगेका युद्धहरूले तिमीलाई डर होइन, दिशा दिनुपर्छ। देशप्रतिको प्रेम कहिल्यै हिंसाको औचित्य बन्न नदिनु। विचारले मात्र देश बन्छ- र तिमीहरू जस्ता शिक्षित चेतनशील युवाले मात्र त्यो सम्भव बनाउँछ।
तिमी राम्रोसँग पढ, सोच, र सँगै हिँड्ने साथीहरूलाई साँचो चेतनाको दीप बनेर प्रकाश देऊ।
र सम्झ – हाम्रो सपना तिमीमा बाँकी छ।
र अन्त्यमा –
देशलाई प्रेम गर, तर अन्धो प्रेमले होइन;
शक्ति खोज, तर विवेकको सीमाभित्र;
संघर्ष सम्झ, तर द्वेष बिना।
तिमी हाम्रो सन्तान मात्र होइन, हाम्रो सपनाको निरन्तरता हौ।
संघर्षको धुलोबाट चेतनाको प्रकाश बनेर उदाऊ –
किनकी तिमी मात्र होइन, तिम्रो पुस्ता नै अब यो देशको “नयाँ बिहान” हो।
असीम माया र गहिरो विश्वास सहित,
तिम्रो बाबा-
पूर्ण घर्ति
(२०८२ /० ६ /२ १ )
( लेखक जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाका सदस्य हुनुहुन्छ)




