एआई युगको चुनौती र मानव श्रमको रूपान्तरण
जब मानिसले गर्ने काम अब रोबोट र कृत्रिम बुद्धिमत्ताले (एआई) गर्न थाल्छ, त्यसले समाज, अर्थतन्त्र, र मानव अस्तित्वकै अवधारणामा गहिरो परिवर्तन ल्याउँछ। यो परिवर्तन केवल प्रविधिको विषय होइन, मानव सभ्यताको अर्को अध्यायको सुरुवात हो- जहाँ श्रम, चेतना र पहिचान पुनःपरिभाषित भइरहेका छन्।
१. कामको अन्त्य र नयाँ युगको सुरुवात
अर्थशास्त्री जेरेमी रिफ्किन आफ्नो चर्चित पुस्तक The End of Work (कामको अन्त्य) मा लेख्छन्- “स्वचालन, एआई र रोबोटिक्सले धेरै मानव श्रमको आवश्यकता घटाउँछ।”
त्यस्तै वैज्ञानिक निक बोस्ट्रम ले Superintelligence: Paths, Dangers and Strategies मा चेतावनी दिएका छन् कि प्रविधि र कृत्रिम बुद्धिमत्ता मानव श्रम र सोच्न सक्ने क्षमतालाई नै प्रतिस्थापन गर्न सक्छ।
यसै पंक्तिमा इतिहासकार युभल नोहा हरारी ले Homo Deus मा उल्लेख गर्छन्- “मानवले रोग, भोक र युद्धमाथि विजय पाइसकेपछि अब अमरता, खुसी र देवत्वको खोजीमा निस्कनेछ।”
क्रिस्पर (CRISPR) जस्ता प्रविधिले आजै मानिसका जीन सम्पादन गरेर रोग प्रतिरोधक क्षमता बढाउने र ‘डिजाइनर बेबी’ सम्मको सम्भावना खोलिसकेका छन्।
तर, यसैक्रममा समाज–प्रविधि विश्लेषक दर्शना नारायणन भन्छिन- हरारीको दृष्टिकोणले विज्ञानलाई कहिलेकाहीँ “रोमान्टिक कथा”मा रूपान्तरण गर्छ, जसमा तथ्यभन्दा कल्पनाको प्रभाव बढी हुन्छ।
२. रोजगार र सिपमा हुने आमूल परिवर्तन
कामको अन्त्य भन्नाले बेरोजगारीको अन्त्य होइन, पुराना कामको अन्त्य र नयाँ कामको जन्म हो।
एमआइटी (Massachusetts Institute of Technology) को २०२० को अनुसन्धान प्रतिवेदन अनुसार
१९४० मा अस्तित्वमा नै नआएका पेशाहरू २०१८ सम्म आइपुग्दा ६३ प्रतिशत नयाँ पेशाको रूपमा देखा परे।
यसले देखाउँछ कि हरेक प्रविधिक क्रान्तिले केही काम हराउँछ, केही नयाँ अवसर जन्माउँछ। उदाहरणका लागि-
– मोबाइल फोनले हुलाक प्रणाली विस्थापित गर्यो,
– कुटानीपिसानी मिलले पानी घट्ट र ढिकीजाँतो हरायो,
– डिजिटल बैंकिङले क्यासियरहरूको काम घटायो,
तर सँगसँगै सफ्टवेयर इन्जिनियर, डेटा एनालिस्ट, साइबर सेक्युरिटी अफिसर जस्ता नयाँ पेशा जन्मिए।
त्यसैले, श्रमको स्वरूप बदलिँदै गएको छ। हलो जोत्नेले ट्र्याक्टर चलाउन सिकेझैं, अब हरेक श्रमिकले नयाँ प्रविधिको सिप सिक्नैपर्ने समय आएको छ।
३. विज्ञान र चेतनाको पुनर्परिभाषा
मानव सभ्यताको यो रूपान्तरण सम्भव बनाउन विज्ञानले क्रान्तिकारी भूमिका खेलेको छ- विशेषतः क्वान्टम भौतिकी र सापेक्षतावादले।
क्वान्टम सिद्धान्त आजसम्मको सबैभन्दा सफल र उथलपुथलकारी सिद्धान्त हो। यही सिद्धान्तले कम्प्युटर, लेजर, मोबाइल, इन्टरनेटदेखि कृत्रिम बुद्धिमत्तासम्मका सबै आविष्कारको जग तयार गर्यो।
तर विडम्बना के छ भने- राजनीतिक दस्तावेज र संविधानमा विज्ञानको नाममा शपथ लिने संस्कार अझै विकास भएको छैन।
नेपालको संविधानमा “ईश्वरका नाममा शपथ” लिनु परम्परा हो, तर “विज्ञान र तर्कका नाममा शपथ” लिने प्रचलन छैन।
यही कारणले नीति निर्माण र प्रविधिको प्रयोगबीच दूरी रहन्छ।
अब आवश्यक छ — संविधान र नीति दस्तावेजमै विज्ञान र प्रविधिलाई मूल्यका रूपमा समावेश गर्ने। यदि नागरिक र सरकारले विज्ञानका सर्वोच्च उपलब्धिहरूलाई आत्मसात गर्ने प्रतिबद्धता जनाए भने मात्रै एआई क्रान्तिको प्रभावलाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।
४. निगरानी पुँजीवाद र डेटा साम्राज्यको खतरा
एआईको वैज्ञानिक जग क्वान्टम कम्प्युटिङ हो, जसले सूचना प्रवाह र विश्लेषणको गति अकल्पनीय बनाएको छ।
तर यही प्रविधिले ‘डेटा साम्राज्य’ र ‘निगरानी पुँजीवाद’ पनि जन्माएको छ।
शोसाना जुबोफ आफ्नो पुस्तक The Age of Surveillance Capitalism मा लेख्छिन् – “निगरानी पुँजीवादले निजी जीवनलाई सार्वजनिक वस्तुमा रूपान्तरण गरिरहेको छ।”
हाम्रो हरेक क्लिक, खोज, संवाद, यात्रा र लेनदेन अब कम्पनीहरूको डेटा सम्पत्तिमा परिणत भएको छ।
अहमद एल हादी, एक स्नायु वैज्ञानिक, भन्छन् – “हामी डिजिटल प्यानोप्टिकनमा बाँचिरहेका छौं।”
यो अवधारणा सन् १७८७ मा जेरेमी बेन्थमले जेल र विद्यालयमा निगरानी प्रणालीका रूपमा प्रस्ताव गरेका थिए।
आज यो प्रविधि फेसबुक, गूगल, टिकटक र सरकारका निगरानी प्रणालीमार्फत डिजिटल जेलको रूपमा परिणत भएको छ।
हामी खुला समाजमा बाँचिरहेका छौं तर प्रत्येक गतिविधि रिकर्ड र ट्र्याक भइरहेका छन्। त्यसैले, प्रविधिले स्वतन्त्रता र गोपनीयता दुबैलाई चुनौती दिइरहेको छ।
५. कामभन्दा परको जीवन – नयाँ दार्शनिक प्रश्न
यदि भविष्यमा रोबोट र एआईले सबै काम गर्न थाले भने, मानिसको भूमिका के हुनेछ ? हरारीको शब्दमा- “कामको अन्त्यले प्रयोजनविहीन वर्ग (useless class)” जन्माउन सक्छ। जब जीवन अमर, सहज र स्वचालित हुन्छ, तब अर्थपूर्णता खोज्नु नै नयाँ चुनौती बन्नेछ।
मानिसले मृत्युमाथि विजय पाएर सयौं वर्ष बाँच्न थाल्यो भने – समय र उद्देश्य दुवैको अर्थ बदलिनेछ। फुर्सदको समय खुशी होइन, दिक्दारीको कारण बन्न सक्छ। यसैले भविष्यको समाजमा “काम गर्ने क्षमता” भन्दा “कामको अर्थ र सृजनशीलता” नै मुख्य मूल्य बन्ने सम्भावना छ।
६. नेपालमा एआई र प्रविधिको प्रभाव
नेपालमा एआई र रोबोटिक प्रविधिको प्रयोग अझ प्रारम्भिक चरणमा छ। तर विश्व आर्थिक मञ्च (World Economic Forum) का अनुसार,
– २०३० सम्म विश्वभर ८० करोड काम स्वचालित हुन सक्छन्, तर ९७ करोड नयाँ काम सिर्जना पनि हुनेछन्।
– नेपालमा बैंकिङ, सञ्चार, स्वास्थ्य, र शिक्षा क्षेत्रमा स्वचालन बढ्दैछ।
– बैंकहरूले डिजिटल ग्राहक सेवा अपनाइरहेका छन्,
– विद्यालयहरूले एआई–आधारित सिकाइ प्रयोग गर्न थालेका छन्,
– अस्पतालहरूमा रोबोटिक सर्जरी र टेलिमेडिसिन सुरु हुँदैछ।
तर सँगै चुनौती छ –
नेपालमा हालसम्म १५ वर्षमाथिका ४२% जनशक्ति मात्र डिजिटल साक्षर छन् (राष्ट्रिय तथ्यांक विभाग, २०२२)।
यदि प्रविधि अपनाउने गति शिक्षाको तुलनामा तीव्र भयो भने, बेरोजगारी र असमानता झन् गहिरो हुन सक्छ।
७. प्रविधि: दुईधारे तरबार
जस्तो भनाइ छ – “प्रविधि दुईधारे तरबार हो: जानेले तरकारी काट्छ, नजानेले आफ्नै हात।”
एआईले मानवीय क्षमता बढाउन सक्छ, तर नियन्त्रणविहीन प्रयोगले नैतिक, आर्थिक र राजनीतिक संकट ल्याउन सक्छ।
तसर्थ, अबको मूल प्रश्न यो होइन कि “एआईले काम खोस्छ कि राख्छ?”
बरु प्रश्न हो – “मानव समाजले एआईलाई कसरी मानव हितमा रूपान्तरण गर्न सक्छ?”
यो सुनिश्चित गर्न —
1. शिक्षा प्रणालीले सृजनशीलता र आलोचनात्मक सोचमा जोड दिनु पर्दछ।
2. विज्ञान नीति र कानूनी संरचना अपडेट गर्नुपर्छ।
3. डेटा गोपनीयता र नागरिक स्वतन्त्रताको कानुनी ग्यारेन्टी आवश्यक छ।
4. प्रविधिको पहुँच ग्रामीण र शहरी दुवै क्षेत्रमा समान हुनुपर्छ।
निष्कर्ष
एआई, रोबोटिक्स र क्वान्टम विज्ञानले संसारलाई तीव्र रूपमा रूपान्तरण गरिरहेका छन्।
तर यो परिवर्तनको दिशा मानव चेतना र नीति–निर्माणले निर्धारण गर्नेछ।
यदि हामी प्रविधिलाई समझदारीसाथ प्रयोग गर्न सक्षम भयौं भने, एआईले बेरोजगारी होइन — नयाँ सृजनशीलता, ज्ञान र दक्षताको युग ल्याउनेछ।
तर यदि हामी अचेत रह्यौं भने, प्रविधिको मालिकबाट हामी स्वयं प्रविधिको नौकर बन्नेछौं।
अब समय आएको छ -हामीले विज्ञानलाई मूल्यका रूपमा स्वीकारेर, प्रविधिलाई नैतिकता र मानवीय चेतनासँग सन्तुलनमा ल्याउने। अन्ततः, भविष्य प्रविधिको होइन- प्रविधिको प्रयोग कसरी गर्ने मानिसको चेतनाको हुनेछ ।




