खत्रीको अठारौँ दसैँगीत : ‘प्यारो गाउँघरमा’ सार्बजनिक
लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आउनुभएको छ । यसपालिको दसैँमा उहाँले ‘प्यारो गाउँघरमा’ गीत पाठक-स्रोतामाझ ल्याउनुभएको छ । यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्तीमगरले स्वर दिनुभएको छ ।
खत्रीको शब्द र सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सृजना गर्दै आएको खत्री बताउनुहुन्छ । उहाँका गीतले चाडबाड आएको छनक दिन्छन् ।
मार्मिक सृजना र ग्रामीण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ । गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन उहाँ पारङ्गत हुनुहुन्छ । आफ्ना हरेक सृजनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास गर्दै आएको खत्रीको भनाइ छ ।
“दसैँगीत मेरो साङ्गीतिक जीवनको पर्यायजस्तै बनेको छ, विगत १८ वर्षदेखि यसलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो ।
दुई दशकभन्दा बढी समयदेखि लोकसङ्गीतमा सक्रिय खत्रीले दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आउनुभएको छ । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहनुहुन्छ । गत वर्षको दसैँमा खत्रीले ‘रित्तो भकारी’ गीत ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँतिहार गाउँमा’, ‘दसैँतिहारसँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।




