चलचित्र विकास बोर्डमा २०० भन्दा धेरै फिल्मका पटकथा संकलन, प्रधानले बुझाए एकैचाेटी ६० पटकथा

मूलखबर संवाददाता
काठमाडौ, ५ साउन ।

चलचित्र विकास बोर्डले शुरु गरेको पटकथा संकलन अभियानले तिब्रता पाएको छ । बोर्डमा अध्यक्ष नियुक्त भएपछि अध्यक्ष डिसिले शुरु गरेको पटकथा संग्रहालयमा हालसम्म २ सय बढि पटकथाहरु संकलन भएका छन् ।
पछिल्लो पटक चर्चित छायांकन तथता पटकथाकार पुरुषोत्तम प्रधानले एकैदिनमा ६० फिल्मको पटकथा चलचित्र विकास बोर्डलाई बुझाएका छन् ।

सोमबार बोर्ड पुगेर उनले अध्यक्ष दिनेश डीसीलाई स्क्रिप्ट बुझाएका हुन् । सो अवसरमा बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार हुने बताए । ‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्ट संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीका लागि प्रेरणा र शोधको स्रोत बनेको छ’ उनले भने ।

हस्तान्तरण गरिएका चलचित्रहरू

छक्का पञ्जा, छक्का पञ्जा ३, कबड्डी, कबड्डी २, कबड्डी ३, लुट, लुट २, नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५, लप्पन छप्पन, लप्पन छप्पन २, दासढुङ्गा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, Maya’s Bar, कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, AABEG, 3 Lovers, जय होस्, ऐँचो-पैँचो, छ एकान छ, Kamala, The Winner, मेरी मञ्जु, Signature, महाजात्रा लक्का जवान, मेरो एउटा साथी छ, I Am Sorry, रातो टिका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङ लगायत रहेका छन्।

केही फेस्टिभलमा अवार्ड जितेका फिल्मका पटकथा पनि छन् । अध्यक्षमा नियुक्त भएलगत्तै अध्यक्ष डीसीले पटकथा संग्रहालय स्थापना गरेका थिए । सोही अभियानअन्तर्गत बोर्डले पटकथा मागिरहेको छ । अहिलेसम्म बोर्डमा २०० भन्दा धेरै फिल्मले पटकथा बुझाएको अध्यक्ष डीसीका सचिवालय संयोजक जनक खड्काले बताए ।