एनआईसी एशिया बैंक २८ औँ वर्षमा प्रवेश
एनआईसी एशिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ। २७ वर्षअघि बैंकले आफ्नो सेवा सुरु गरेको थियो। सोही आत्मीय सहयात्राको फलस्वरुप आज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन सफल भएको बैंकले जनाएको छ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढेको बैंकले यो अवधिमा साथ सहयोग गर्ने ग्राहक, नियमनकारी निकायहरू, शेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू सबैलाई धन्यवाद दिएको छ।
‘२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७औं वार्षिकोत्सव मनाउन गइरहेका छौं’, बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईकाे बैंक बन्ने प्रतिबद्धता जनाएको छ ।
डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा हामी आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरु माझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएकाे बैंकले जनाएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पु¥याउन सफल भएको बैंकले जनाएको छ ।




