ग्वार्काे ओभरपासमा आजबाट गाडि गुड्ने, हाेला त जामकाे समस्या समाधान ?

मूलखबर संवाददाता
काठमाडौं, ६ असार

उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ओभरपासले बल्ल पूर्णता पाएको छ।

पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

ओेभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो। तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो। तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो। आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो।

केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराए।

‘ग्वार्को ओभरपासको निर्माण कार्यमा प्राविधिक जटिलता र अपरिहार्य प्राविधिक परिमार्जनका कारण केही ढिलाइ भयो,’ उनले भने, ‘प्रारम्भिक डिजाइनअनुसार काम सुरू गरे पनि निर्माण व्यवसायीले पेस गरेको प्रारम्भिक डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको थियो। त्यसका लागि थप अध्ययन तथा स्वीकृति प्रक्रियाले समय लिएको हो। साथै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा अपेक्षित मात्रामा सुधार गर्नुपर्ने देखिएकाले माटो सुधारसम्बन्धी थप कार्य गर्नुपर्यो। यो कामले अतिरिक्त समय र स्रोतको खपत गर्‍यो।

भण्डारीका अनुसार ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो र्‍याम्प छ। दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको ¥याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको उनको भनाइ छ।

‘बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ। यसरी दुईवटै र्‍याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ,’ भण्डारीले भने, ‘यस पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको हो।’

करिब १७ करोड छ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, तर काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ,’ उनले भने, ‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय सवारीसाधनको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता फ्लाई ओभर निर्माणको कार्यले ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताए। ‘ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो। छोटाछोटाभन्दा पनि लामो फ्लाई ओभर निर्माण गर्न सकियो भने अझै ट्राफिक व्यवस्थापनमा सहज हुनेछ,’ उनले भने, ‘ग्वार्कोमा अबदेखि जाम नहुने र छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन्। तर सातदोबाटो चोकमा आएर एकैपटक सवारी चाप बढ्ने र त्यो स्थानमा जाम बढ्ने छ । तसर्थ लामो ओभरपास निर्माणको योजना ल्याउन आवश्यक छ।’