भारतकाे अहमदाबादमा विमान दुर्घटना, धेरै मानविय क्षति

मूलखबर संवाददाता
काठमाडौं, २९ जेठ

भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटना भएको छ ।

सरदार पटेल इन्टरनेसनल विमानस्थलबाट उडेको केही क्षणमै जहाज मेघाणी नगर इलाकामा दुर्घटनामा परेको थियो । जहाज डाक्टरहरूको एक होस्टलमा खसेको थियो । भवन भएको क्षेत्रमा विमान दुर्घटना भएको  हाे ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

विमानमा १० जना चालक दलसहित २४२ यात्रु सवार थिए, जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानेडियन नागरिक भएको जानकारी दिइएको छ ।

विमान भवनमाथि खसेको हुँदा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।  जहाज अहमदावादबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलका लागि उडेको थियो । जहाजमा सवार मानिस बाहेक १५ जना डाक्टर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय आकाशमा भएको यो दुर्घटना ठूलो दुर्घटना हो । दुर्घटनामा परी ज्यान गुमाउने सबैमा भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।