विश्व बदल्ने मजदूर (कविता)

सत्यजीत
काठमाडौं, १८ बैसाख

म श्रमिक-
मेरो हातले ठडिन्छ झुपडी, बन्छ महल,
मेरो छातीबाटै टेकेर उठ्छ व्यवस्था, बनाइन्छ महल।
मेरो पसिनाले हाम्फाल्छ विज्ञानको आकाश,
रकेट, मिसाइल, सबै मबाटै भएको विकास।

फलामको डण्डी होस् या खनिएको सुरुङ,
मेरो हात बिनाको प्रगति हो केवल झुटको कुरुङ।
डिग्रीवालालाई जस, मलाई गालीको वर्षा,
तर म बिना बनेको छैन कुनै पनि व्यवस्था।

मेरो सपना लुटेर शासन गर्छ पूँजी,
मेरो पीडा च्यातेर बनाइन्छ नीति र सन्धी।
राजा फाल्ने हात मेरो थियो,
तानाशाह भत्काउने घुँडा मेरो थियो।

संविधान लेखिन्छ, तर मेरो रगत बिनाको हैन,
क्रान्तिको आगो जल्छ, जब म उठ्छु-डर हैन।
प्लेकार्ड मेरो, नारा मेरो, आँसु पनि मेरो,
तर सिंहासनमा कहिल्यै पुग्दिन मार्यौ कैले सम्म फेरो ?

मजदूर छु म, न्यायको मन्दिर र उद्योगको आधार,
न्याय भनेकै मेरो रगत हो, झन्डा मेरो उच्च संसार।
अब हैन टुटेका सन्देशहरूमा झुक्ने,
अब उठ्ने हो-जुन दिन विश्व फेरिने।

आज म लेख्छु-इतिहासको नयाँ पाना,
जहाँ श्रमिक हुनेछ अग्रपंक्तिमा, सच्चा नेता र कानुन।
झुपडीदेखि अन्तरिक्षसम्मको कथा म नै हो,
विश्व बदल्ने तिमीलाई थाहा छैन, म मजदूर नै हो।