कोरियामा नेपाली श्रमीकलाई यातना, एक युवाले गरे आत्महत्या

मूलखबर संवाददाता
काठमाडौं, १५ फागुन ।

नेपाली युवाहरुको मुख्य रोजाईमा पर्ने कोरियामा नेपाली युवाहरुमाथि यातना दिइएको खबर आएको एक हप्ता नवित्दै एक युवाले आतमहत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया पुगेका तुलसी पुन मगर शुक्रबार राति मृत अवस्थामा फेला परेका हुन् ।

माग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मगर दक्षिण कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्ममा काम गर्थे । उनी ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए । उनका सहकर्मीले रोजगारदाता र सुपरभाइजरबाट निरन्तर भइरहेको यातना सहन नसकेर मगरले आत्महत्या गरेको दाबी गरेका छन् ।

घटनाको केही दिनअघि मात्र मगरसहित ६ नेपाली श्रमिकले आफूहरूमाथि कुटपिट भइरहेको भन्दै उद्धारका लागि भिडियोमार्फत अपिल गरेका थिए । भिडियोमा लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको बताएका थिए ।

‘म यहाँ आएको दुई महिना नपुग्दै चार पटक कुटाइ खाइसकें । एक्लाएक्लै सीसी क्यामरा नभएको ठाउँमा लगेर कुट्छ,’ लालबहादुरले भिडियोमा अपिल गरेका थिए, ‘त्यही भएर म यो कम्पनीमा बस्न चाहन्नँ । दैनिक यातना दिन्छ ।’ भिडियोमा तुलसीले पनि आफूमाथि कुटपिट भइरहेको बताएका थिए । ‘हाम्रो समस्या एउटै हो । हामीलाई उद्धार गर्नुहोला,’ तुलसीले भनेका थिए । तर, उनी न कम्पनी छाडेर बाहिर निस्कने सके न नेपाल नै फर्कन सके । आत्महत्याको बाटो रोज्न पुगे । यो खबर कान्तिपुरमा होम कार्कीले लेखेका छन् ।