
बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि हस्तान्तरण
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डब्लुएचओ० का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरेका हुन्।
दाताबाट प्राप्त भएका औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचारका लागि आएका बालबालिकामा प्रयोग हुनेछ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि केही दिनअघि प्राप्त गरेको थियो। पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि प्राप्त भएका थिए। डब्लुएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा २०८० चैत १४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डब्लुएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्भौता भएको थियो।
सम्झौताअनुसार आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) का लागि ती संस्थाले ले ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछन्। यस कार्यक्रममार्फत औषधि प्रदान गर्नुको साथै ती औषधिको उचित भण्डारण र व्यवस्थापनमा चार वटा अस्पताललाई आवश्यक ‘रेफ्रिजेरेटर’ र ‘हाइग्रोमिटर’ खरिद गरी सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रायलयले जनाएको छ।
औषधि हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनको काम गरिरहेको बताए। ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित हुन नपरोस् भनी निःशुल्क उपचारको व्यवस्था गरेका छौँ। औषधिको सहयोगले बालबालिकाको क्यान्सर उपचार प्रभावकारी हुनेमा विश्वस्त छौँ,’ उनले भने।
