हमास र इजरायलबीच कतारमा वार्ता, युद्व अन्त्य गर्ने सहमति हुँदै
मध्यपुर्वकाे द्वन्द्व अन्त्य हुने दिशामा पुगेको छ । इजरायल र प्यालेस्टाइनबीच भएको हिंसात्मक द्वन्द्व करिबकरिब अन्त्यतिर पुग्न लागेकाे बीबीसीले जनाएको छ ।
इजरायलका अधिकारीहरू र प्यालेस्टाइनकाे विद्राेही समुह हमासका प्रतिनिधिहरूबीच केही दिनदेखी कतारकाे मध्यस्थतामा वार्ता भइरहेको छ । वार्तामा युद्वविराकाे सहमति भएको छ ।
इजरायल र प्यालेस्टिनी समूह हमास युद्धविरामका लागि सहमतिनजिक पुगेका छन् । कतारको मध्यस्थतामा भएको वार्तामा दुई पक्षबीच सहमति जुटेपछि १५ महिना लामो युद्ध अन्त्य हुने भएको हो ।
सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको रूपरेखालाई दुवै पक्षले स्वीकार गरेपछि सहमति भएको हो । गाजामा युद्धविरामका लागि अमेरिका, कतार र इजिप्ट लामो समयदेखि सक्रिय थिए । ४८ हजारभन्दा बढीको ज्यान गएपछि दुवै पक्ष युद्धविरामका लागि तयार भएका हुन् ।
बीबीसीका अनुसार दोहास्थित एउटै भवनमा रहेका इजरायल र हमासका प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता भएको थियो । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले गराएको वार्तामा इजरायलको प्रतिनिधित्व गुप्तचर एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र आन्तरिक सुरक्षा एजेन्सी शिन बेटका निर्देशक रोनेन बारले गरेका थिए ।
यस्तै, हमासका तर्फबाट राजनीतिक ब्युरोका कार्यवाहक प्रमुख तथा प्रमुख वार्ताकार खलिल अल–हाय्या सामेल थिए । वार्तामा इजिप्टको गुप्तचर संस्थाका निर्देशक हसन रसद, अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पका विशेषदूत ब्रेट म्याकगर्क र स्टिभ विटकफ पनि सहभागी थिए ।
प्यालेस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो । हमासको आक्रमणबाट अक्टोबर ७ मा करिब १२ सयको ज्यान गएको थियो । हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार बीचमा अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी १ सय ९ जनालाई हमासले मुक्त गरेको थियो ।