माओवादी केन्द्रले सबै निर्वाचन एक्लै लड्ने तयारी गर्ने, कार्यकारी राष्ट्रपति एजेन्डा

मूलखबर संवाददाता
काठमाडौं, २० मंसिर

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले उपचुनावकाे समीक्षा गर्दै आगामी २०८४ सालको चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा उनकै निवासमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको बताए ।

उनका अनुसार सिंगो पार्टी अब एकल निर्वाचन भिड्ने तयारीमा लाग्नेछ र यसबारेमा ठाेस निर्णय स्थायी समिति र केन्द्रीय समिति बैठकले लिनेछ ।

सापकाेटाले देशैभर उपनिर्वाचनमा माओवादीकाे पक्षमा मत आएकाे, माेरङमा गाउँपालिका अध्यक्ष जितिएकाे, रूकुम पुर्व, जाजरकाेट र गाेरखामा सबै माओवादी विरूद्व लाग्दा पनि विजय हासिल भएकाे र  कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको बताए ।

प्रवक्ता  सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने समेत बताए ।

उनले अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि’ गर्ने बताए । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले पत्रकारलाई जानकारी गराए।

पार्टीको केन्द्रीय समिति बैठक पुस २ गतेदेखि काठमाडौं आयाेजना गरिएको छ ।