देशभर उमेदवारकाे मनाेनयन दर्ता : ४४ पदका लागि ४१० उमेदवार
उपनिर्वाचनकाे दिन नजिकिँदै गएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि हिजाे मंसिर २ गते उमेदवार मनाेनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयाेगका अनुसार ४४ पदका लागि ४१० जना उमेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमा जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिएको हो ।
निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘उनीहरूमध्ये ३५ महिला, ४८ पुरुष र १ अन्य छन्,’ आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले भनिन्, ‘रिक्त ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।’
आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवार धनुषाधाम नगरपालिका–१ को अध्यक्ष पदमा २१ जना छन् । सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को अध्यक्ष र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा ३/३ जना उम्मेदवार छन् काठमाडौंकाे किर्तिपुर नगरपालिकामा २० जनाले मेयर पदमा उमेदवारी दर्ता गराएका छन् ।