१५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्छ : घिसिङ
बक्यौता नतिरेको कारण लाईन काटिएका उद्योगहरुको लाईन जोड्ने निर्णय सरकारले र प्राधिकरण समितिले गरेपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् ।
निर्देशक घिसिङले आज पत्रकार सम्मेलन गरी सो घोषणा गरेका हुन् । उनले नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनले बताए ।
‘नेपाल सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता बुझाउनुपर्ने छ । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने । उनले १५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने बताए ।
‘घिसिङले पत्रकारसँग भने -‘हामीले कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ, त्यसलाई मान्न हामी बाध्य छौं, तर अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि हो,’ ।
यसअघि पनि तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिदिएको र अहिले पनि त्यही गरेको उनले बताए ।
बक्यौता नतिर्ने उद्योगी व्यवसायीलार्य ३२ किस्तामा तिर्न पाउने गरी व्यवसथा गरिदिएको भएता पनि किस्ता तिर्न अटेर गर्नेहरुको लाइन प्राधिकरणले काटेको थियो । तर प्रधानमन्त्री केपी ओलीले तत्काल लाईन जोड्न निर्देशन दिएको खबर आएको थियो । तर घिसिङले किस्ता तिर्न अटेर गर्नेहरुको छाडेर किस्ता तिर्न शुरु गरेका ८ उद्योगको लाईन जोडिदिएका थिए ।
आइतबारको मन्त्रीपरिषद बैठकबाट बक्यौता नतिर्ने सबैको लाईन जोड्ने निर्णय गरिएको थियो भने हिजो प्राधिकरणको सञ्चालक समितिको बैठक बसेर लाईन जोड्ने निर्णय गरेको थियो ।