रास्वपा सभापति लामिछाने रूपन्देहीमा, शुरू गरियाे बयान

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देहीमा लगिएको छ। कास्की प्रहरीको हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री  लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको हो।

सहकारीको रकम हिनामिना आरोपमा काठमाडौंस्थित पार्टी कार्यलयबाट पक्राउ गरि पाेखरा लगिएका उनलाई  अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियाे पछिल्लोपटक १४ दिन लामाे म्याद थप गरिएका लामिछानेलाई विमानमार्फत रूपन्देही लगिएको हाे ।  आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले  रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही लगिएको  हो । मंगलबार  बिहानै लैजाने  तयारी गरिए पनि जहाज समयमा उडान नहुँदा केही घण्टा ढिला रुपन्देही ल्याइएको छ । भैरहवास्थित विमानस्थलबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पोखराबाट भैरहवा ल्याएपछि उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरेको थियो । कात्तिक २ गते पक्राउ परेका उनलाई  कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि आज ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतबाट प्रहरीले लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ। जिल्ला अदालत रुपन्देहीले यही कात्तिक ८ गते बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी नै जारी गरेको थियो ।

उनलाई सरकारी वकिल कार्यलय लगेर बयान शुरू गरिएको छ । उनलाई अधिवक्ता प्रेम राज पाैडेललगायतले बयान लिन शुरू गरेका छन् । बयानमा लामिछानेले रकम लिएकाे बारे साेधिएकाे र लामिछानेले आफुले रकम नलिएकाे जवाफ दिएकाे बताईएकाे छ ।