मानव तस्करीको अभियाेगमा पक्राउ परेका एमाले नेता अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

मूलखबर संवाददाता
काठमाडौं

मानव तस्करीकाे अभियाेगमा विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याइएका  एमालेका नेता तथा कोशी प्रदेशका पुर्व मन्त्री सांसद लीलाबल्लभ अधिकारीलाई अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई विमानमार्फत आइतबार  काठमाडौं ल्याइएको थियाे ।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराएर आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

आइतबारै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियाे । अदालतले अनुसन्धानका लागि उनलाई २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हाे । जिल्ला न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त अनुमति दिएको हो ।