उपनिर्वाचन : किर्तिपुरकाे मेयरमा माओवादीबाट प्राध्यापक डा. शिवशरण उम्मेदवार
मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको पार्टीको नगर कमिटी बैठकले प्राध्यापक महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादीले वडा नम्बर १ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षमा नारायण विष्टलाई सिफारिस गरेको छ ।
कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मी, वडा नम्बर १ अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का श्यामकुमार अधिकारीको निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटमा उपनिर्वाचन हुँदैछ ।
माओवादी केन्द्रका मेयरको उम्मेदवारमा सिफारिस महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षाशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै उनले विश्वविद्यालय अनुदान आयोगको सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।