रविलाई कास्की प्रहरी हिरासतमा राखियाे, रास्वपाले आज प्रदर्शन गर्ने

मूलखबर संवाददाता
कास्की, ३ कात्तिक २०८१

सहकारी ठगी सम्वन्धी अभियाेगमा कास्की जिल्ला अदालतकाे पक्राउ आदेशपछि विशेष प्रहरीद्वारा शुक्रवार साँझ पार्टी कार्यलय बनस्थली काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरिएको थियाे ।

पक्राउ गर्न आएकाे प्रहरी र सरकार विरूद्व आक्राेशीत भएका कार्यकर्ताकाे नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहना बमोजिम प्रहरीले  सडकमार्ग भएर रातारात उनलाई  पोखरा पुर्याएको हो । लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा गल्छी, मलेखु, मुग्लिनलगायत ठाउँ–ठाउँमा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए ।

राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्याएकाे थियो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि समेत रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका थिए। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो ।

लामिछानेलाई पक्राउ गर्नका लागि कांग्रेस सभापति देउवाले दवाव दिएकाे र ओलीले समर्थन र निर्देशन दिएकाे भन्दै   रास्वपा समर्थक तथा कार्यकर्ताले आज शनिवार पनि प्रदर्शनका विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरेका छन् ।