प्रचण्डको आव्हानमा बानेश्वरमा प्रतिपक्षी दलहरूकाे बैठक

मूलखबर संवाददाता
काठमाडौं, २ कात्तिक २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक बसेकाे छ ।

दशै सकिएलगत्तै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ ।

प्रचण्डको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको हाे ।

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा अध्यक्ष रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, माओवादी उपमहासचिव शक्ति बस्नेतलगायत सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तर‌ङ्गीत रहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ।

ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ।

हिजाे प्रधानमन्त्री केपी ओलीकाे आव्हानमा तीन प्रमुख राजनीतिक दलकाे शिर्ष बैठक बसेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने निर्णय भएको थियाे ।