वर्षा, बाढी, पहिराे र डुबानले सबैभन्दा बढी धान खेतीमा क्षति

मूलखबर संवाददाता
काठमाडौं, २८ असाेज

असाेजकाे दाेस्राे हप्ता आएकाे अविरल वर्षा, बाढि, पहिराे र डुबानबाट सबैभन्दा बढी कृषि क्षेत्र प्रभावित भएको छ ।  बर्षा र त्यसबाट आएको बाढीका कारण धान खेतीका साथै तरकारी, फलफूल तथा पशुपालनमा करीव ६ अर्वको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

किसानले धान थन्काउने तयारी गरिरहेको वेला भएको बैमोसमी बर्षा र डुवानको कारण सबैभन्दा बढी क्षति धान बालीमा भएको हो ।

कृषि मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार यसपटक  सबैभन्दा बढि नोक्सानी धान खेतीमा भएको छ । धान खेतीमा मात्र ३ अर्व रुपैयाँभन्दा बढीको क्षति भएको कृषि मन्त्रालयले अनुमान गरेको छ ।

त्यसैगरी दशैको लागि तयार गरिएको तरकारी, फलफूल, माछा तथा पशुपालनमा तर्फ करीव ३ अर्व रुपैयाँ बराबरकै क्षति भएको अनुमान गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघका अनुसार बाढी र डुवानको कारण बागमति, गण्डकी र मधेश प्रदेशको धान बालीमा बढि क्षति भएको छ । भित्र्याउनै लागेको बेला अन्नबालीमा क्षति पुग्दा कृषिमा निर्भर रहेका किसान सबैभन्दा बढि प्रभावित खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् ।

मन्त्रालयले गरेको धान बालीको क्षतिको अनुमान प्रारम्भिक मात्रै हो । बागमति प्रदेशमा काभ्रे, ललितपुर, सिन्धुपाल्चोक, नुवाकोट धादिङ, मकवानपुर, चितवन, सिन्धुली, दोलखा र पूर्वी पहाडी जिल्लाको धान वाली बढी प्रभावित भएका छन् । कृषि मन्त्रालयले र सम्वन्धित पालिकाहरुले बिस्तृत रुपमा अध्ययन नगरेको हुदाँ क्षतिको विवरण निकै बढ्ने राष्ट्रिय कृषक समूह महासंघले जनाएको छ ।

नेपाल डेरी एशोसिएसनका अनुसार बर्षा र बाढीको कारण सडक राजमार्ग क्षतिग्रस्त हुदाँ किसानले उत्पादन गरेको दुध बजारसम्म पुर्याउन कठिनाई भयो । बाढी प्रभावित क्षेत्रका साना ठुला गरी १९ वटा डेरी उद्योगहरु प्रभावित भएको नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।