संकटग्रस्त जिल्ला २०, पालिका ७१ पुगे

मूलखबर संवाददाता
काठमाडौं

अविरल वर्षा, बाढी, डुबान र पहिरोले धेरै क्षति पुगेका स्थानीय तहहरूलाई संकटग्रस्त घाेषणा गर्ने सरकारी तयारीपछि पालिकाकाे संख्या पनि बढिरहेको छ ।

सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ती सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र हाल उच्च प्राथमिकतामा राखेर राहत सामग्री वितरण तथा पुनःस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ (१) बमोजिक यही असोज १८ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि बाढीपहिरो प्रभावित ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरी हालै राजपत्रमा प्रकाशित गरिएको उनले बताए ।