रामेछापको राकाथुममा सांसद माझीको पहलमा राफ्टिङ बाेट सञ्चालन

मूलखबर संवाददाता
रामेछाप, २४ असाेज २०८१

असाेज ११ गतेकाे सुनकाेशी नदीकाे बाढीले पुल बगाएपछि आवातजावत बन्द भएकाे रामेछाप जिल्लाकाे खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा राफ्टिङ बाेट सञ्चालनमा आएकाे छ ।

माओवादीका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेकी सांसद उर्मिला माझीको पहलमा गृह मन्त्रालयकाे निर्देशन र जिल्ला विपद व्यवस्थापन समितिकाे निर्णयमा आज प्रमुख जिल्ला अधिकारीकाे उपस्थितिमा राफ्टिङ बाेट हस्तान्तरण  गरिएकाे हाे ।

पुल बगाएर स्थानीयबासीकाे अन्य पालिका र मुख्य गरेर राजधानी काठमाडौं जाने मार्ग नै बन्द भएपछि लमजुङबाट सांसद बनेकी माझी राष्ट्रिय मुक्तिमोर्चा अध्यक्ष समेत रहेकी सांसद माझीले आफ्नो लेटरप्याडमा गृहमन्त्रीलाई तत्काल राफ्टिङ बाेट उपलब्ध गराउन सिफारिस गरेकी थिइन् ।

बाेट उपलब्ध गराउन ढिलाइ हुँदै जाँदा सुत्केरी महिलालाई माेटरकाे टायरकाे ट्युव प्रयाेग गरेर काेशी नदी तार्न बाध्य भएको भिडियो सार्वजनिक भएको थियाे ।

आज उक्त स्थानमा राफ्टिङ बाेट हस्तान्तरण कार्यक्रममा रामेछाप प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधि, माझी समुदायका जनसमुहकाे उपस्थिति रहेको थियाे ।

बाेट प्राप्त भएकोमा वडाध्यक्ष रामकुमार श्रेष्ठले सांसद माझीलाई धन्यवाद दिँदै  उहाँकाे सहयाेग भुल्न नसक्ने बताए । माझी समुदायका युवा नेता जसमान माझीले माझी समुदायकाे लागि सांसद उर्मिला माझीकाे पहलमा बाेट आएपछि धेरै ठूलाे राहत महशुस भएको बताउँदै अब पुनःस्थापना र खानेपानी सहित अन्य सहयाेगकाे आवश्यकता रहकाे बताए ।