बाहिरीँदै मनसुन : दशैंमा पर्दैन झरी

मूलखबर संवाददाता
काठमाडौं, २१ असाेज

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बाहिरीने क्रम शुरू भएको जनाएको छ । उसले मनसुन बाहिरीने भएपछि दशैंमा वर्षा नहुुने पनि जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिन थालेकामा आइतबार कर्णाली र लुम्बिनीका पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन भएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अबको एक सातामा नेपालको पूरै भूभागबाट बाहिरिने आकलन गरिएको छ ।

मनसुनी वायु कमजोर हुन थालेकाले अब छिटफुट र हल्काबाहेक ठुलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । ‘मनसुन बाहिरिँदैमा पानी नै पर्दैन भन्ने होइन । मध्य र पूर्वी नेपालमा त अझै मनसुन कायमै छ, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ,’ लामिछानेले भने, ‘तर, झरी वा बाढीपहिरो आउने खालको पानी पर्ने देखिँदैन ।’

तर, यसअघि पहिरो खसेको क्षेत्रमा भने ३०–४० मिलिमिटरसम्मको वर्षाले पनि पहिरो ल्याउन सक्ने जोखिम हुने भएकाले हरेक दिन मौसमी बुलेटिन हेरेर यात्रा गर्न उनले अनुरोध गरे । लामिछानेका अनुसार नेपालमा प्रत्यक्ष असर गर्ने खालको ठुलो मौसमी गतिविधि तत्काल छैन ।

नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो भने भित्रिने औसत मिति जुन १३ हो । पश्चिमी वायुले मनसुनी वायु विस्थापित गरेपछि क्रमिक रूपमा मनसुन बाहिरिन्छ । मनसुन बाहिरिएपछि पोस्ट मनसुन सुरु हुन्छ । पोस्ट मनसुनमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहन्छ, तर मनसुनको जस्तो ठुलो वर्षाको सम्भावना कम हुन्छ ।