पुर्वी तराईबाट काठमाडौं वैकल्पिक सडक मार्ग खुल्याे
बाढीले खुर्कोटको पुल बगाएर सडक सम्पर्क विच्छेद भएका बेला पूर्वी तराईबाट राजधानी काठमाडौंसम्म आउन थप वैकल्पिक सडक मार्ग खुलेको छ ।
रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका सवारीसाधनका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग सञ्चालनमा आएको हो । पहिरोले अवरुद्ध भएको दोलालघाटदेखि जिरोकिलो हुँदै नगरकोटबाट जगाती आउने अर्को सडक सोमबारदेखि नै सञ्चालनमा छ ।
असोज १२ को बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत् केन्द्रको विद्युत्गृह नजिकै पुष्पलाल राजमार्गको ४ सय मिटर खण्ड तामाकोशी नदीले कटान गरेको थियो । खिम्ती जलविद्युत् केन्द्रका प्रतिनिधि, रामेछाप र दोलखाका प्रमुख जिल्ला अधिकारीसहित राजनीतिक दलहरूको सहमतिमा जलविद्युत् केन्द्रको आवास क्षेत्रबाट नयाँ ट्र्याक खन्ने सहमति मंगलबार भएको थियो । ट्र्याक खन्न बुधबार बिहानैबाट २ वटा एक्स्काभेटर प्रयोग गरिएको थियो । ‘दिनभरिमा सडकको ट्र्याक खन्ने काम सकिएको छ,’ दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले भने ।
बर्दिबासबाट सिन्धुलीको मूलकोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा छ । खुर्कोटबाट ३० किलोमिटर यात्रापछि रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पार गरेपछि मन्थली निस्कन सकिन्छ । उक्त सडक कालोपत्र छ । मन्थलीबाट सिधै पुष्पलाल राजमार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट राजधानी जोडिन्छ । बर्दिबासबाट यो वैकल्पिक मार्ग प्रयोग गरेर राजधानी पुग्न ३ सय १५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ ।