काभ्रेमा मात्रै ६५ काे मृत्यु, ७१ घाइते, ८ बेपत्ता, कुन पालिकामा कति क्षति ?

मूलखबर संवाददाता
काभ्रे, १६ असाेज

अविरल वर्षाका कारण बाढीपहिरोमा परि काभ्रे जिल्लामा सबैभन्दा धेरै नागरिकले ज्यान गुमाएका छन् । बाढी पहिराेका कारण  मृत्यु हुनेको संख्या काभ्रेमा मात्रै  ६५ जना पुगेको छ। जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि ६५ जनाले ज्यान गुमाएको पुष्टि प्रहरीले गरेको हाे ।

जिल्लामा ७१ जना घाइते भएका छन् भने ८ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हालसम्म ४७ जना उपचारपछि घर फर्किसकेका छन् भने २४ जना अझै उपचारत रहेको प्रहरीले जनाएका छन् ।

हालसम्म हेलिकप्टरबाट सात सय ४५ जना र अन्यबाट तीन हजार दुई सय ९९ जना उद्धार भएको छ। मंगलबारसम्ममा सवारी साधनबाट ८ हजार चार सय ७१ जनाको सवारीसाधनबाट उद्धार भएको पनि प्रहरीले जानकारी दिए ।

तीनदिनकाे लगातारको वर्षा र बाढीबाट सबैभन्दा बढि राेशी गाउँपालिकामा र त्यसपछि तेमाल गाउँपालिकामा क्षति भएको छ । त्यसैगरी पनाैती नगरपालिका, खानिखाेला गाउँपालिकामा जनधनको क्षति  बढि भएको  छ भने  बनेपा तथा धुलिखेल नगरपालिकामा पनि क्षति पुगेकाे प्रहरीले जनाएको छ । यसपटकको बाढी पहिराेले आफ्नो पालिकनमा भने जनधनकाे क्षति नभएको र सडक पनि क्षति नभएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन् ।