दसैँमा नयाँ नोट नपाइने

मूलखबर संवाददाता
काठमाडौं, १५ असाेज

विगतका वर्षहरूमा जस्तै दसैँमा नयाँ नोट साट्न यस वर्ष नपाइने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैङ्कबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दसैँमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैङ्कमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले यो वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरूमा सुकिला नोटहरू प्रशस्त रहेको र राष्ट्र बैङ्कले व्यवस्थापन गर्नुपर्ने भएकाले दसैँमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गर्नुभयो ।

राष्ट्र बैङ्कसँग तथा बैँकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताउनुभयो । उहाँले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दसैँको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताउनुभयो ।

बजारमा प्रशस्तै पुराना नोट प्रयोगमा रहेको जनाएको छ । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपियाँसम्म पाउनेछन् ।

५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।