वर्षा राेकिएसँगै पहिराे पन्छाएर खुल्दै सडकहरू, हेटौंडा जाने केही सडक खुले
तीनदिनकाे फर्षा, बाढि र पहिराेबाट बन्द भएका सडकहरू वर्षा राेकीएपछि विस्तारै खुल्ने क्रममा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट खुलेका छन्।
यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ।
दक्षिणकाली–छैमले–सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए।
दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोका कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ।
भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिएका छन् ।