नौबिसे नागढुंगा राजमार्गको पहिरो आज हटाइ सक्ने

मूलखबर संवाददाता
काठमाडौं

पूर्व पश्चिमका जिल्लाहरूबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुंगा सडक बिहीबार साँझदेखि अवरुद्ध छ ।

निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध रहेको छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ ।

त्रिभुवन राजपथको नौबिसे नागढुँगा खण्ड अन्तरगत झ्याप्लेखोलामा खसेको पहिरो पन्छाउने काम सुरु भएको छ । सडकको लामो भाग लेदोले ढाकेको र पहिरोमा दुई वटा बस सहितका सवारी साधन पुरिएकाले सावधानी पूर्वक काम गर्नुपर्ने हुँदा आज दिनभर समय लाग्न सक्ने लय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभएको छ । केसीका अनुसार पृथ्वीराज मार्गमा रहेका केही पहिरो शनिवार हटाएको छ भने केही पहिरो बिहान देखि नै हटाउने कार्य थालिएको छ ।

त्रिभुवन राजपथ र पृथ्वीराज मार्गका विभिन्न ठाउँमा दर्जनौँ पहिरो भएका कारण राजमार्ग आज सुचारु गर्न कठिन हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी गराउनु भएको छ । पाण्डेका अनुसार सबै सुरक्षाका सबै संयन्त्र र साधनहरूलाई राजमार्गमा रहेका पहिरो हटाउन प्रयोग गरिएको छ ।