अखिल क्रान्तिकारीकाे विधान प्रस्ताव : २४३ सदस्यीय केन्द्रीय समिति, ३३ पदाधिकारी

मूलखबर संवाददाता
काठमाडौं

अनेरास्ववियु क्रान्तिकारीले २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावसहितकाे विधान प्रस्तुत गरेको छ ।

शुक्रबारबाट सुरु भएको संगठनकाे २३ ओैं राष्ट्रिय सम्मेलनकाे बन्दसत्रमा महासचिव दीपेश पुनले संगठनको विधान छलफलका लागि प्रस्ताव गरेका हुन्।

उपाध्यक्ष तथा प्रवक्ता जिपी मैनालीले प्रतिनिधिहरुले अध्ययन गरेपछि आवश्यकताअनुसार छलफल गरेर शनिबारै विधान प्रतिवेदन पास गर्ने तयारी रहेको बताए। ‘प्रतिनिधहरुले अध्ययन गरेपछि सुझाव दिनुहुन्छ, त्यसपछि आवश्यकताअनुसार छलफल गरेर शनिबार विधान पारित गरिनेछ’ अध्यक्षका दाबेदारसमेत रहेका मैनालीले भने।

उनका अनुसार २४३ सदस्यीय केन्द्रीय कमिटी र अध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने गरी विधान छलफलका लागि प्रस्ताव गरिएको छ। जसअनुसार केन्द्रीय समितिको ढाँचा १ अध्यक्ष ९ उपाध्यक्ष, १ महासचिव, १२ सचिव, १ कोषाध्यक्षसहित ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय र  १६२ केन्द्रीय सदस्य रहने प्रस्ताव छ। विधानमै क्रान्तिकारीले प्रमुख सचिव र सहसचिवसमेत चुनिने प्रबन्धसमेत प्रस्ताव गरेको छ। केन्द्रमा २७ ओटा केन्द्रीय विभाग रहनेछन्।