देशभर वर्षा : माैसमी वायुकाे प्रभाव, सतर्कता अपनाउन आग्रह

मूलखबर संवाददाता
काठमाडौं, ११ असाेज

आज देशभर वर्षा भइरहेको छ । जल तथा माैसम विभागका अनुसार मनसुनी वायुको प्रभावले गर्दा वर्षा भइरहेको हाे ।

भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ।

शुक्रबार राति  देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।