नेपालले बिआरआईबाट प्रशस्त लाभ लिन सक्छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल

मूलखबर संवाददाता
काठमाडौं, ९ असाेज

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनले बिआरआईबाट प्रशस्त लाभ लिन सक्ने बताउनुभएको छ ।

नयाँ चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित बीआरआई अवसर तथा चुनौती विषयक अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्वाेधन गर्दै राष्ट्रिय सभाका  दाहालले भन्नुभयाे- `बेल्ट एण्ड रोड परियोजनामा नेपाल जोडिनुको मुख्य कारण नेपाली जनताको समृद्धिको चाहना र नेपालको विकास निर्माण पूरा हुन्छ भन्नु नै हो ।´

उहाँले बिआरआईलाई नेपाली जनताको अधिकतम् हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा हामीले गहिरो चिन्तन मनन् गर्न जरुरी भएको बताउनुभयाे ।

उहाँले विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्न, बेल्ट एण्ड रोड परियोजनामार्फत् उच्च गुणस्तरको निर्माणलाई अवसरका रूपमा लिन, आपसी सहयोगका बिन्दुहरू विस्तार गरी अझ फराकिलो बनाउन र सहयोगका नयाँ नयाँ क्षेत्रहरु विकास गर्न हामी लालायित हुनुपर्ने बताउनुभयाे ।

उहाँले नेपालले टीआरसीलाई संसदबाट पारित गरेसँगै अब विकास र समृद्धिकाे यात्रामा जानुपर्ने र त्यसका लागि चीनकाे साथ महत्त्वपूर्ण हुने बताउनुभयाे ।

उहाँले भन्नुभयाे- `केही दिन अघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोगसम्बन्धी कानुन (TRC) सर्वसम्मत पारित भएको छ। संसारभरिबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुङ्ग्याउन सफल भएकोमा हामीले बधाईसहित धन्यवाद पनि पाएका छौं। अब हाम्रो अगाडि आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व स्थापना गर्ने बाहेक अरु विकल्प छैन। यसमा चीन सरकारबाट विगतमाझैं झनै सहयोग र समर्थन हुनेछ भन्ने विश्वास लिएको छु।´