सहकारी ठगीमा कारवाही सिफारिस भएकी संगितालाई सरकारले दियाे नियुक्तिको उपहार

मूलखबर संवाददाता
काठमाडौं, ९ असाेज

सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरू जाेगाउने खेलमा छ भनेर विपक्षीले आराेपहरू लगाइरहेका बेला त्यसैलाई पुष्टि गर्नेगरी सरकार काम गरिरहेकाे छ । सरकारले पछिल्लोपटक फेरि सहकारी ठगी अभियाेगमा कारवाही सिफारिस गरिएको व्यक्तिलाई थप नियुक्तिको उपहार दिएकाे छ ।

गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र शिव शिखर बहुउद्देश्यीय सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सरकारले सहकारी विकास बोर्डको सदस्य नियुक्त गरेको छ ।

३१ भदौमा संसदीय समितिले गरेको सिफारिसअनुसार उनीमाथि कारबाही प्रक्रिया थाल्नुपर्नेमा सरकारले २ असोजको मन्त्रिपरिषद् बैठकबाट सहकारी बोर्डको सदस्यमा नियुक्त गरेर उल्टै पुरस्कृत गरेको छ । सत्तारूढ कांग्रेसको भगिनी संगठन नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत रहेकी संगीता कांग्रेसकै सिफारिसमा नियुक्त भएकी हुन् ।

सहकारीमन्त्रीको नेतृत्वमा रहने सहकारी विकास बोर्ड यस्तो निकाय हो जसले सरकार र सहकारी आन्दोलनलाई नीतिगत विषयमा सहयोग गर्ने, सहकारी आन्दोलनलाई प्राविधिक तथा आर्थिक सहयोग मिलाउने तथा सरकार र सहकारी आन्दोलनबिच समन्वय गर्ने जिम्मेवारी पाएको छ । तर, यस्तो निकायमा सहकारी ठगीमै संलग्न व्यक्तिलाई नियुक्ति गर्नुले जोखिममा परेका बचतकर्तामाथि सरकारबाटै ठाडो अन्याय भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले संगीता तामाङ बोर्ड सदस्यमा नियुक्त भएको पुष्टि गरे । उनले भने, ‘संगीता तामाङ राष्ट्रिय सहकारी बोर्डको सदस्यका रूपमा नियुक्त हुनुभएको साँचो हो । गत २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई बोर्ड सदस्यका रूपमा नियुक्त गरेको हो जस्तो लाग्छ ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले बोर्ड सदस्यमा नियुक्त गर्न सिफारिस गरेकी हुन् ।

सरकारकाे याे रबैयाले सरकार सुशासन र जनपक्षीय एजेन्डाकाे विपरीत अगाडि बढिरहेकाे थप पुष्टि हुँदै गइरहेको छ ।