कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

सुपथ मुल्यमा चिनि ल्याउने साल्ट ट्रेडिङकाे टेण्डरमा आवेदन नै परेन

मूलखबर संवाददाता
काठमाडौं, ९ असाेज

चाडबाडका लागि चिनी ल्याउन साल्ट ट्रेडिङ कर्पोरेसनले ग्लोबल टेन्डर गरे पनि कुनै पनि कम्पनीले आवेदन नदिँदा दसैंअगाडि आयात हुने सम्भावना न्यून देखिएको छ । बजारमूल्य हस्तक्षेप गर्न सरकारले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको थियो ।

भदौ २४ को मन्त्रिपरिषद् बैठकले छुटमा चिनी ल्याउन साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५–१५ हजार टनको जिम्मा दिएको थियो । लगत्तै साल्टले १२ दिनको ग्लोबल टेन्डर गरेको थियो । टेन्डरको म्याद यही असोज ७ सम्म भए पनि कुनै कम्पनीले इच्छा देखाएनन् । अब पुनः टेन्डर गर्ने गृहकार्य भइरहेको साल्टका सह–महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।

सामान्यतः सार्वजनिक खरिद ऐनअनुसार ग्लोबल टेन्डर गर्नुपर्छ । यसका लागि कम्तीमा पनि ४५ दिनको सूचना निकाल्नुपर्छ । तर यस अवधिमा दसैंतिहार नै सकिन्छ । ‘त्यसलाई मध्यनजर गर्दै यसअघि भारत सरकारले जीटुजीमार्फत उपलब्ध गराउने भनिएको कोटाबाटै चिनी ल्याउने तयारी भएको छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘खाद्यले तयारी गरे पनि भारतका तर्फबाट ढिलाइ भइराखेको छ ।’

पछिल्लो समय भारतले चिनी निर्यातमा बन्देज गरेको छ । सरकारले छुटमा ल्याउन कोटा तोके पनि भारतसँग चिनीको कोटा बढाइदिन आग्रह गरेको छैन । सोही कारण साल्टले चिनी खरिद गर्न टेन्डर गरे पनि कम्पनीहरूले इच्छा नदेखाएको जानकारहरू बताउँछन् ।  याे खबर कान्तिपुरमा छ ।

छान्नुहोस् र सुन्नुहोस्