माओवादी घटकहरूलाई ढिला नगरी एकतावद्व हुन प्रचण्डकाे अपील

मूलखबर संवाददाता
काठमाडौं, ५ असाेज

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताउनुभयो ।

‘‘हामीसँग हजारौँ महान् राष्ट्रिय सहिदहरू छन्, यो हाम्रो ठुलो शक्ति हो,’’ उहाँले भन्नुभयो, ‘‘माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्नेबित्तिकै त्यो तागत निकै ठुलो हुनेवाला छ । अझै पनि हामी सही ठाउँमा छौँ, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौँ, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौँ, विजय सम्भव छ ।’’

संसदीय चुनाव लडिसकेपछि सङ्ख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वाभाविक भएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले संसद्को शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताउनुभयो । अहिले पनि संसदमा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक क्रियाकलापको रूपमा अर्थ्याएको उल्लेख गर्नुहुँदै  उहाँले यो शब्द फिर्ता नलिँदासम्म संसदबाट प्रतिरोध जारी राख्ने बताउनुभयो ।

जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । पटक-पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउनुहुँदै उहाँले भन्नुभयो, ‘‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’’ यसबाट जनयुद्धका सदिहरु अब राष्ट्रिय सहिदको रूपमा अजर अमर बनेको उहाँले स्पष्ट गर्नुभयो ।