माैसम : केही दिन वर्षाकाे सम्भावना, दुई प्रदेशमा हुनसक्छ मुसलधारे वर्षा
माैसम पुर्वानुमान विभागले केही दिन वर्षा हुन सक्ने सम्भावना देखाएको छ ।
केही दिनयता मनसुनी वर्षा रोकिए जस्तो भए पनि मनसुन सकिएको छैन । एक वा दुई दिन घाम लाग्ने र फेरि अर्को एक/दुई दिन वर्षा हुने प्रवृत्ति दोहोरिरहेको छ । मनसुनी प्रणाली सक्रिय गराउन जलवाष्पको आवश्यकता बढ्दा प्राकृतिक प्रणाली अनुसार नै कहिले घाम कहिले पानीको प्रवृत्ति बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पूर्व, पश्चिम र सुदूरपश्चिमसम्म नै बुधबारदेखि फेरि बदली सुरु भएको छ । दुई दिनयता घामछायाको अवस्थापछि बुधबार अपराह्नदेखि देशव्यापी बदली सुरु भएको हो ।
बुधबार हल्का वर्षा भए पनि बिहीबार र शुक्रबार लुम्बिनी र सुदूरपश्चिका धेरै भूभगमा मुसलधारे वर्षाको सम्भवना रहेको उहाँले बताउनुभयो । साथै बागमती र गण्डकी प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको छ ।
करिब एक महिना मनसुनको समय बाँकी रहे पनि मनसुनी प्रणालीको वेग कम भएको छैन । नेपालमा यो वर्ष बढी वर्षा हुने आकलन यसअघि नै भएको थियो । त्यसैले पनि मनसुन उत्तरार्धतिर लागेको छनक मौसमले नदिएको महाशाखाले जनाएको छ । अबको केही दिन देशका विभिन्न स्थानमा हुने भारी वर्षाले निम्त्याउन सक्ने बाढीपहिरो, डुबानलगायतका विपत्बाट आमनागरिकको जिउधन जोगाउन पूर्वतयारी गर्न सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।