केही अराजक तत्वहरूले हिंसा भड्काउन खाेजिरहेका छन्- ओली

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री केपी ओलीले केही अराजक तत्वहरूले हिंसा भड्काउन खोजिरहेको भन्दै सचेत रहन पार्टीपंक्तिलाई सजग गराएका छन् । अराजकता फैलाउन खोज्ने तत्वसँग जुनसुकै वेला संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने ओलीको भनाइ छ । तर, ती तत्व को हुन् भन्नेबारे भने उनले खुलाएनन् ।

केन्द्रीय सदस्य कुन्दन कुशवाह र मञ्जु चालिसेलाई आइतबार पार्टी कार्यालयमा शपथ गराउँदै ओलीले सरकारले शान्ति र न्यायका पक्षमा पीडितमैत्री संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाएको बताए । ‘हामीले पीडितमैत्री, पीडितका पक्षमा कानुन बनाएका छौँ । नेपाललाई हामी शान्तिपूर्ण देश बनाउँछौँ । तर, केही भिन्न प्रकारका अराजकताका पक्षमा रहेका तत्वहरूले अन्य गलत प्रयास गरेका छन्,’ ओलीले भने, ‘यस सन्दर्भमा एमाले तयार हुनुपर्छ, कुनै पनि वेला अराजकताविरुद्ध कानुनी राज्यका पक्षमा, लोकतन्त्र, सुशासन, संविधान रक्षाका लागि आन्दोलनको मैदानमा उत्रिनुपर्ने हुन सक्छ । एमाले तयार भएर बस्नुपर्छ । हामी कुनै पनि गलत प्रवृत्तिविरुद्ध झुक्दैनौँ ।’

उनले एमाले खुद्रा मसिना खेलमा अल्झिने पार्टी नभएर विजय प्राप्तिका लागि अघि बढ्ने पार्टी भएको बताए । प्रधानमन्त्री ओलीले अबको निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी पार्टी निर्माणमा अगाडि बढ्न ध्यानाकर्षण गराए ।