घट्याे पेट्रोलियम पदार्थको मूल्य, कहाँ कति मुल्य ?

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यश क्षेत्रमा अब पेट्रोलको भाउ १६४ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५४ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यस यो क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ पर्नेछ।