तीन महिनामा विगतका ३ महिनाभन्दा राम्रो नतिजा आओस् – प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ ।

नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्नुहुँदै उहाँले देश र जनताका लागि गर्न पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शतप्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट गर्नुभयो ।

“हामी जागिर खाइरहेका छैनौँ । हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ । यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो लक्ष्य निर्धारण गराइ काल्पनिक नहोस्, वस्तुगत होस् । पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरू नै कमजोर राखिनु हुन्न । हामीले कठिन मेहनताका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ । अबका तीन महिनामा इतिहासका अरू कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ । धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।”